२७ माघ, काठमाडौँ । विश्व क्रिकेटकै बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको टी-२० विश्वकप खेल हुने निश्चित भएको छ । पाकिस्तान सरकारले सोमबार राति औपचारिक निर्णय गर्दै भारतविरुद्धको निर्धारित खेल खेल्न आफ्नो राष्ट्रिय टोलीलाई निर्देशन दिएपछि अन्योल अन्त्य भएको हो । यो निर्णयसँगै आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा दुई चिरपरिचित प्रतिद्वन्द्वीबीच रोमाञ्चक भिडन्त हुने पक्का भएको छ ।
पाकिस्तान सरकारद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच भएको बहुपक्षीय छलफल सकारात्मक निष्कर्षमा पुगेको उल्लेख छ । यसअघि बंगलादेशलाई विश्वकपबाट हटाउने विषयलाई लिएर असन्तुष्ट बनेको पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने संकेत दिएको थियो । तर, आईसीसीले बंगलादेशमाथि कुनै कारबाही नगर्ने निर्णय गरेपछि स्थिति सहज बनेको हो ।
यो विवाद सुल्झाउन कूटनीतिक प्रयास समेत भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच भएको संवाद तथा श्रीलंका र युएई लगायतका देशहरूले खेल बहिष्कार गर्दा पर्न सक्ने ठूलो आर्थिक असरबारे ध्यानाकर्षण गराएपछि पाकिस्तान लचिलो बनेको हो । क्रिकइन्फोका अनुसार सबै सदस्य राष्ट्रहरूले प्रतियोगिताप्रति आफ्नो प्रतिबद्धता पालना गर्ने र टी-२० विश्वकपलाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्ने सहमति गरेका छन् । यस निर्णयले विश्वभरका क्रिकेट समर्थकहरूलाई ठूलो उत्साह थपेको छ ।
















