२७ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह आज मंगलबार मधेश प्रदेशको चुनावी अभियानमा केन्द्रित हुने भएका छन् । चुनावी सरगर्मी बढ्दै जाँदा शाहले आज एकै दिन मधेशका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
बालेनको मधेश यात्रा आज बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ । सचिवालयका अनुसार बिहान ८:४५ मा कञ्चनरुप, ९:१० मा हनुमाननगर र ९:२० मा सप्तरी क्षेत्र नम्बर २ को सदरमुकाम राजविराजस्थित ‘घण्टी घर’ पुग्ने कार्यक्रम छ । त्यसलगत्तै उनी बिहान १०:१० मा डाक्नेश्वरी र १०:२० मा बोधेबर्साइन नगरपालिकामा आयोजना हुने चुनावी सभाहरूमा सहभागी हुनेछन्।
सप्तरीको कार्यक्रम भ्याएर बालेन सिराहा प्रवेश गर्नेछन् । सिराहामा उनको तालिका निकै व्यस्त देखिएको छ, जहाँ उनले भगवानपुर, नवराजपुर, बरियारपटी र औरही चोकको भ्रमण गर्नेछन् । त्यसपछि सुखीपुर जिरोमाइल, गोलबजार, चोहर्वा, मिर्चैया र कल्याणपुर बजार हुँदै सिराहा बजारमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्नेछन् ।
सिराहापछि बालेनको टोली धनुषातर्फ लाग्नेछ । दिउँसो १:३५ मा कमला पुल तरेर तिनकौरिया चोक पुग्ने उनी १:५० मा यदुकुवा पुग्ने कार्यतालिका छ । दिउँसो २:१० मा प्रसिद्ध धार्मिकस्थल धनुषाधाम र २:४० मा नगराइनमा कार्यक्रम तय गरिएको छ ।
धनुषाको कार्यक्रम सकेर उनी अपराह्न ३ बजे महोत्तरीको सदरमुकाम जलेश्वर पुग्नेछन् । त्यसपछि ३:२० मा एकदरा र ३:४० मा बलवा-सर्पल्लोमा स्थानीयसँग भेटघाट गरी उनी साँझ ४:१० मा बर्दिबास पुग्नेछन् । बर्दिबासमा आजको दिनभरको भ्रमणको समापन हुने सचिवालयले जानकारी दिएको छ ।
रास्वपाले मधेशका यी जिल्लाहरूमा आफ्नो संगठन सुदृढीकरण र चुनावी माहोललाई तीव्रता दिन बालेनको यो वृहत् भ्रमण तय गरेको बुझिएको छ ।
















