२७ माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा र सचेतना फैलाउन टिकटक भिडियो प्रतियोगिताको घोषणा गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै युवा पुस्ता र आम नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन आयोगले यो नयाँ शैलीको प्रचार अभियान सुरु गरेको हो ।
सोमबार आयोगद्वारा प्रकाशित सूचनाअनुसार निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता र मतदाता शिक्षाजस्ता महत्वपूर्ण विषयमा आधारित भिडियो बनाएर जोसुकै नागरिकले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट हुने तीनवटा भिडियोलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसअन्तर्गत पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको छनोट मुख्यतया भिडियोले पाउने ‘भ्यूज’ र यसको प्रभावकारिताका आधारमा गरिने आयोगले जनाएको छ ।
सहभागी हुन चाहनेले बढीमा एक मिनेटसम्मको रचनात्मक भिडियो तयार पारी टिकटकका साथै युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्नेछ । भिडियो सार्वजनिक गरेपछि त्यसको लिङ्क आगामी फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगले तोकेको आधिकारिक इमेलमा पठाउनुपर्नेछ ।
आयोगले यसअघि पनि विभिन्न निर्वाचनका समयमा यस्ता प्रतियोगिता आयोजना गर्दै आएको थियो। यसपटक टिकटकसँगको समझदारीमै यस्ता कार्यक्रम अघि बढाइएकाले मतदाता शिक्षा थप प्रभावकारी हुने र बदर मतको संख्या न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।
















