Logo

२७ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२, टेढास्थित श्रीमति मनमिश्रा आधारभूत विद्यालयका बालबालिकाको सहजताका लागि उपकार सेवा नेपालले कार्पेट सहयोग गरेको छ। विद्यालयको बालविकास तहमा अध्ययनरत ९८ जना बाबुनानीहरूले चिसो भुइँमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै संस्थाले दुईवटा कक्षाकोठामा कार्पेट ओछ्याइदिएको हो।

उपकार सेवा नेपालको सम्पूर्ण आर्थिक सहयोगमा ६३० स्क्वायर फिट ‘यती कार्पेट’ खरिद गरी विद्यालयका दुईवटा कोठामा ओछ्याइएको छ । मंगलबार विद्यालय प्राङ्गणमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच उक्त कार्पेट विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । कार्पेट ओछ्याएसँगै अब साना बालबालिकाहरूलाई चिसो मौसममा भुइँमा बसेर अध्ययन गर्न निकै सहज हुने विश्वास लिइएको छ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साहले संस्थाको यो मानवीय कार्यप्रति आभार प्रकट गर्दै विपन्न क्षेत्रका बालबालिकाका लागि यो ठूलो राहत भएको बताए ।

सो अवसरमा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो । सामाजिक सेवामा सक्रिय उपकार सेवा नेपालले यसअघि पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ ।


सम्बन्धित समाचार