२७ माघ, वीरगञ्ज । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको एक कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । यसअघि बेपत्ता भनिएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो ।
गत माघ २२ गते अवैध रूपमा सञ्चालित उक्त कोइलाखानीमा शक्तिशाली विष्फोट भएको थियो । विष्फोटपछि बेपत्ता भएका राईको शव स्थानीय अस्पतालमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । रोजगारीको खोजीमा गत असोज ९ गते भारत गएका राईको दुखद निधनले गाउँ नै शोकमा डुबेको छ ।
सोही विष्फोटमा परेर यसअघि नै खोटाङको बराहपोखरी गाउँपालिका-१ सालघारीका तीन जना युवाको मृत्यु भइसकेको थियो। मृत्यु हुनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गी रहेका थिए । रत्न राईको पनि मृत्युको पुष्टि भएसँगै यस घटनामा परी ज्यान गुमाउने सबै नेपालीहरू खोटाङ जिल्लाकै रहेका छन् ।
कोइलाखानीमा भएको विष्फोट र आगलागीका कारण शवहरूको अवस्था क्षतविक्षत र जलेको भएकाले सनाखत गर्न समय लागेको थियो । मृतक सबैको भारतको मेघालयमै अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । असुरक्षित र अवैध खानीमा काम गर्न जाँदा नेपाली कामदारहरूले बारम्बार यसरी ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
















