Logo

 २७ माघ,वासिङ्टन । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले नेपाल, होन्डुरस र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको अस्थायी संरक्षित स्थिति (TPS) अन्त्य गर्दै उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो खुला गरेको छ।

ट्रम्प प्रशासनले गत वर्ष यी तीन देशका हजारौँ नागरिकहरूको TPS समाप्त गर्ने निर्णय गरेको थियो। TPS अन्तर्गत ती आप्रवासीहरूलाई अमेरिकामा कानूनी रूपमा बस्न र काम गर्न अनुमति दिइँदै आएको थियो। तर यस निर्णयविरुद्ध परेको मुद्दामा एक संघीय न्यायाधीशले प्रशासनलाई TPS अन्त्य कार्यान्वयन नगर्न आदेश दिएका थिए।

सोमबार नवौँ सर्किट कोर्ट अफ अपील्सले उक्त आदेशलाई अपिलको अन्तिम फैसला नआउन्जेलका लागि स्थगित गर्दै सरकारलाई निर्वासन प्रक्रिया अघि बढाउन सकिने अनुमति दिएको हो।

अदालतको निर्णयमा भनिएको छ, “नेपाल, होन्डुरस र निकारागुआका लागि TPS समाप्ति रोक्ने अघिल्लो आदेश अपिल प्रक्रिया पूरा नहुन्जेलका लागि स्थगित गरिएको छ।”

TPS कार्यक्रम युद्ध, प्राकृतिक प्रकोप वा अन्य असाधारण परिस्थितिका कारण स्वदेश फर्किँदा जोखिममा पर्ने सम्भावना भएका आप्रवासीहरूलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिनका लागि बनाइएको कार्यक्रम हो।

सन् १९९८ मा विनाशकारी तूफान ‘मिच’पछि अमेरिका पुगेका ५१ हजारभन्दा बढी होन्डुरान र करिब तीन हजार निकारागुआन नागरिकले TPS अन्तर्गत सुरक्षा पाएका थिए। त्यसैगरी, सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि करिब सात हजार नेपाली नागरिकलाई पनि TPS प्रदान गरिएको थियो।

इतिहासमा अमेरिकी राष्ट्रपतिहरूले यस्ता आप्रवासीहरूको TPS स्थिति पटक–पटक नवीकरण गर्दै आएका थिए, जसका कारण उनीहरू निर्वासनबाट जोगिँदै आएका थिए।

तर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान चलाउने वाचा गर्दै TPS अन्त्यलाई आफ्नो आप्रवासन नीतिको हिस्सा बनाएका छन्। गृहमन्त्री क्रिस्टी नोमले सोमबार TPS “कहिल्यै पनि स्थायी कार्यक्रमका रूपमा डिजाइन नगरिएको” स्पष्ट पार्नुभएको छ।

गृह मन्त्रालयका अनुसार, TPS हटाउने निर्णय गर्दा ती देशहरूमा अवस्था सुधार भएको र त्यहाँका नागरिकहरू सुरक्षित रूपमा स्वदेश फर्कन सक्ने निष्कर्ष निकालिएको छ।


सम्बन्धित समाचार
भर्खरै