२७ माघ,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकामा करदाता सेवा प्रवाह औपचारिक रूपमा सुरु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालय सिमराको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गरिएको हो।
नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यवसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) वितरण गर्दै सेवा सञ्चालनमा ल्याइएको थियो। सेवा सुरु भएकै दिन पहिलोपटक सेवा लिने करदातालाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले देशभरका उपमहानगरपालिकामध्ये पहिलोपटक जीतपुरसिमराबाट करदाता सेवा सुरु भएको जानकारी गराए। मन्त्रिपरिषद्को कार्तिक १७ गतेको निर्णयअनुसार सबै स्थानीय तहबाट कर सेवा उपलब्ध गराउने नीतिअनुरूप पालिकास्तरमा सेवा विस्तारको प्रक्रिया अघि बढाइएको उनले बताए।
अब उपमहानगरपालिकाबाटै प्यान दर्ता, व्यवसाय दर्ता, करचुक्ता लगायतका सेवा उपलब्ध हुन थालेसँगै करदाताले सदरमुकाम वा टाढाका कार्यालय धाउनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ। स्थानीय तहमै सेवा उपलब्ध हुँदा समय र खर्चको बचत हुनुका साथै कर प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढ्ने विश्वास लिइएको छ।
आन्तरिक राजस्व कार्यालय सिमराले पालिकामा खटिने कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसबाट स्थानीय तहमा कर प्रशासन सुदृढ भई करको दायरा विस्तार हुने र उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जाराले करदाता मैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्यान दर्ता, करचुक्ता लगायतका सेवा पालिकाबाटै प्रदान गरिने जानकारी दिए।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले अब व्यवसायीहरूले कर तिर्न जाँदा भोग्दै आएको झन्झट कम हुने विश्वास व्यक्त गरे। सेवाहरू स्थानीय तहबाटै उपलब्ध हुँदा व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ थियो। साथै उनले कम्पनी रजिस्ट्रार तथा घरेलु कार्यालयसम्बन्धी सेवासमेत क्रमशः पालिकामै विस्तार गर्न माग गरे।
आन्तरिक राजस्व विभागका निर्देशक मदन दाहालले हालसम्म ३२ वटा स्थानीय तहबाट करदाता सेवा सुरु भइसकेको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि ७५३ वटै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्यअनुसार काम भइरहेको बताए। दुर्गम तथा पहाडी क्षेत्रका नागरिकले कर सेवा लिन भोग्दै आएको कठिनाइ अन्त्य गर्ने उद्देश्यले स्थानीय तहबाट सेवा सुरु गरिएको उनले बताए।
सेवा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले करदाता सेवा सञ्चालनको व्यवस्थापन प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रभावकारी रूपमा गर्न आग्रह गरे। सेवाग्राहीको चाप बढ्न सक्ने भएकाले आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी कम्तीमा आठ महिनासम्म कर्मचारी काजमा खटाउन सुझाव दिए। यसले सेवा प्रवाह सहज हुनुका साथै स्थानीय कर्मचारीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो।
नगरप्रमुख पौडेलले स्थानीय तहबाट उपलब्ध हुने कर सेवाको अधिकतम उपयोग गर्न व्यवसायी तथा नागरिकलाई आग्रह गर्दै यसले स्थानीय सरकार र करदाताबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेसहित जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
















