२७ माघ,इस्लामाबाद । पाकिस्तान अन्ततः टी–२० विश्वकप २०२६ अन्तर्गत भारतविरुद्धको खेल खेल्न तयार भएको छ। पाकिस्तानी सरकारी टेलिभिजनले सोमबार राति सामाजिक सञ्जाल एक्स (X) मार्फत यसको औपचारिक पुष्टि गरेको हो।
पाकिस्तानी सरकारी टेलिभिजनले एक्समा लेखेको छ, “फेब्रुअरी १५ मा भारतविरुद्ध हुने भनिएको खेल खेल्न पाकिस्तान तयार भएको छ। बंगलादेश र श्रीलंकाको अनुरोध तथा भारतले पाकिस्तानका केही सर्त स्वीकार गरेपछि सहमति बनेको हो।”
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) ले पाकिस्तान र बंगलादेश क्रिकेट बोर्डका प्रतिनिधिसँग गरेको छलफलपछि यो निर्णयमा पुगिएको बताइएको छ। वार्तामा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वी सहभागी थिए।
पाकिस्तानको चर्चित दैनिक डन का अनुसार, यसअघि श्रीलंकाका राष्ट्रपति अनुरा कुमाराले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग प्रत्यक्ष संवाद गर्दै भारतविरुद्धको खेलमा सहभागी हुन औपचारिक अनुरोध गरेका थिए।
यसअघि बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय भएपछि त्यसको विरोधस्वरूप पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो। तर पछिल्लो कूटनीतिक पहल र वार्तापछि पाकिस्तान आफ्नो अडानबाट पछि हट्दै खेल्न सहमत भएको हो।
यसैबीच बंगलादेश क्रिकेट बोर्डले अप्ठ्यारो परिस्थितिमा समर्थन गरेको भन्दै पाकिस्तानप्रति धन्यवाद व्यक्त गरेको छ।
















