२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा पाएका एक प्रहरी हवल्दार नै ६० लाख रुपैयाँ लुटपाटको मुख्य योजनाकार रहेको सनसनीपूर्ण तथ्य खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत ३८ वर्षीय हवल्दार कर्ण बहादुर सुनारलाई लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । नवलपरासीको कावासोती–१३ घर भएका सुनारले प्रहरीको बर्दी र ओहोदाको दुरुपयोग गर्दै ठूलो रकम डाँकाचोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना विवरण अनुसार, गत माघ १४ गते हवल्दार सुनारको समूहले सस्तो दरमा बिलसहितको सुन मिलाइदिने प्रलोभन देखाएर एक पुरुषलाई कीर्तिपुरस्थित एभोगाडो क्याफेमा बोलाएका थिए । पीडित व्यक्ति ६० लाख नगद बोकेर क्याफेमा पुगेलगत्तै हवल्दार सुनारको नेतृत्वमा आएको टोलीले आफूहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली भनी चिनाउँदै धम्काएर उक्त रकम लुटेर फरार भएका थिए । प्रहरीको पहिचान दिएरै लुटपाट गरिएकाले सुरुमा घटना रहस्यमय बने पनि सूक्ष्म अनुसन्धानपछि प्रहरीकै कर्मचारीको संलग्नता पुष्टि भएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार यस लुटपाट काण्डमा हवल्दार सुनारका साथै अन्य तीन जना सहयोगीलाई पनि नियन्त्रणमा लिइएको छ । विमानस्थल जस्तो संवेदनशील स्थानमा कार्यरत सुरक्षाकर्मी नै यसरी संगठित लुटपाटमा संलग्न हुनुले प्रहरी संगठनभित्रै गम्भीर प्रश्न खडा गरेको छ । पक्राउ परेका सबैमाथि डाँकाचोरी मुद्दामा थप अनुसन्धान भइरहेको र लुटिएको रकमको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
















