२७ माघ,वीरगञ्ज । बारामा नगदे बालीका रूपमा रहेको उखु भित्र्याउने सिजन सुरु भएसँगै किसानहरूलाई यतिबेला उखु काट्न भ्याइनभ्याई भएको छ। बिहानदेखि साँझसम्म खेतबारीमा खटिएर उखु काट्ने र चिनी मिलसम्म पुर्याउने काममा किसानहरू व्यस्त देखिन्छन्।
जिल्लाको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरूको लर्को लागेको छ। उखु खेती धेरै किसानका लागि घरदैलोमै रोजगारीको प्रमुख माध्यम बनेको भए पनि उचित मूल्य नपाउँदा उनीहरूमा खासै उत्साह देखिँदैन।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ। साथै सरकारी अनुदान बापत थप ७० रुपैयाँ दिइने व्यवस्था अनुसार किसानले कुल ६९० रुपैयाँ पाउने प्रावधान छ। तर उत्पादन लागत उल्लेख्य रूपमा बढेकाले यो मूल्यले लगानीसमेत नउठ्ने किसानहरूको गुनासो छ।
किसान प्रतिनिधिहरूले उत्पादन लागत, मजदुरी र मल–बीउको मूल्य वृद्धि भएको भन्दै प्रति क्विन्टल कम्तीमा ७५० रुपैयाँ हुनुपर्ने माग गर्दै आएका छन्। मूल्य निर्धारणमा सहमति नजुट्दा हरेक वर्षझैं यस वर्ष पनि किसान र चिनी मिल सञ्चालकबीच विवाद देखिएको छ।
फागुनदेखि वैशाखसम्म रोपिएको उखु १० देखि १२ महिनापछि अर्थात् मंसिरदेखि फागुनसम्म काट्ने उपयुक्त समय मानिन्छ। सोही अनुसार जाडो याम सुरु भएसँगै बाराका ग्रामीण भेगमा उखु काट्ने र मिलसम्म ढुवानी गर्ने चहलपहल बढेको हो।
















