२७ माघ ,सेढवा । पर्साको ठोरी गाउँपालिका–३ अन्तर्गत पर्ने शिकारीबास गाउँमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पनि हालसम्म कुनै पनि राजनीतिक दलका उम्मेदवार मत माग्न नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
देशका विभिन्न स्थानमा निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसार, घरदैलो अभियान, झन्डा, पोस्टर तथा ब्यानरले माहोल तातेको देखिए पनि शिकारीबासमा भने यस्ता गतिविधि देखिएका छैनन्। वीरगञ्ज–ठोरी हुलाकी राजमार्गबाट करिब सात किलोमिटर जंगलभित्र अवस्थित यस गाउँमा उम्मेदवारहरू नआएको स्थानीय प्रेम महतोले जानकारी दिए।
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा रहेको यस गाउँका बासिन्दाले वर्षौंदेखि विविध समस्याको सामना गर्दै आएका छन्। उम्मेदवारहरू नआउँदा आफ्ना पीडा, समस्या र आवश्यकता सुनाउने अवसरसमेत नपाएको उनीहरूको भनाइ छ।
“नेताहरू चुनावका बेला वाचा गरेर जान्छन्, जितेपछि अर्को चुनावसम्म फर्केर हेर्दैनन्,” स्थानीयवासीको गुनासो छ। यद्यपि उम्मेदवारसँग प्रत्यक्ष संवाद भएमा केही समस्या समाधान हुने आशा अझै बाँकी रहेको महतोले बताए।
शिकारीबासमा पुग्ने व्यवस्थित सडकको अभाव, जंगली जनावरको आक्रमणबाट हुने धनजनको क्षति र बेरोजगारी यहाँका प्रमुख समस्या हुन्। जंगली जनावरले किसानका बालीनाली नष्ट गर्ने गरेका छन् भने बासिन्दा जोखिमपूर्ण जीवन बिताउन बाध्य छन्।
स्थानीयका अनुसार संघीयता कार्यान्वयनपछि केही समस्या आंशिक रूपमा समाधान भएका छन्। प्राथमिक उपचारका लागि स्वास्थ्य इकाइ स्थापना, खानेपानीका लागि बोरिङ जडान, सोलार प्लान्टमार्फत विद्युत् सुविधा, निःशुल्क वाइफाइ तथा गाउँ कटान रोक्न नदी नियन्त्रणसम्बन्धी काम भए पनि ती आवश्यकता अनुसार पर्याप्त नभएको जनाइएको छ।
शिकारीबास गाउँमा ५५ घरधुरी रहेका छन्, जसमा आदिवासी थारु समुदायको बाहुल्यता छ। गाउँको कुल जनसंख्या करिब २६० रहेको छ भने करिब १४० जना मतदाता छन्। बासिन्दामध्ये एक जना प्रहरी सेवामा र एक जना शिक्षण पेशामा स्थायी रूपमा कार्यरत छन्। चार जना करार सेवामा रहेका छन् भने दुई जना वैदेशिक रोजगारीमा छन्। बाँकी अधिकांश स्थानीय खेतीपातीमै निर्भर छन्।
















