२७ माघ,वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ स्थित सुवर्णपुर चोकबाट मानसिक अवस्था कमजोर भएका करिब ३० वर्ष उमेरका एक पुरुषको उद्धार गरेको छ।
आफ्नो नाम, थर तथा ठेगाना प्रष्ट रूपमा बताउन नसक्ने ती पुरुषलाई दिउँसो करिब २:३० बजे उद्धार गरी आश्रममा ल्याइएको हो।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रमका अभिभावक प्रकाश थारु, ठोरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष अष्टबहादुर लोप्चन तथा सुवर्णपुर प्रहरी चौकीका वरिष्ठ हवलदार विवेक राउत कुर्मीको उपस्थिति रहेको थियो।
आश्रममा ल्याएपछि उद्धार गरिएका व्यक्तिको सरसफाइ तथा नुहाइधुवाइ गराई डाक्टर भरत गोईको निगरानीमा आवश्यक औषधि उपचार सुरु गरिने मानवसेवा आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, उपचार र पुनःस्थापनाका लागि निरन्तर काम गर्दै आएको छ।
















