२७ माघ,सेढवा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार डा. कृपासिन्धु चौधरीले घरदैलो अभियान तीव्र बनाएका छन्।
उम्मेदवार चौधरीले आफ्नो चुनावी घोषणापत्रसहित मतदाताको घरदैलोमा पुगेर शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, भौतिक पूर्वाधार र पर्यटनलाई विकासको मुख्य आधारका रूपमा अघि सारेका छन्।
आजको कार्यक्रम अन्तर्गत डा. चौधरी जिराभवानी गाउँपालिका–५ को शंकरसरैया, हरैया र सखुवनियाका मतदातासँग भेटघाट गर्दै समर्थन मागेका थिए। साथै ठोरी गाउँपालिका अन्तर्गत विजय बस्ती, निर्मलबस्ती, ब्रह्मानगर र शिकारीबास क्षेत्रमा समेत घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।
उम्मेदवारले सार्वजनिक गरेको घोषणापत्र अनुसार शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ। सामुदायिक विद्यालय र उच्च शिक्षाको गुणस्तर सुधार, SEE नतिजा अभिवृद्धि, गणित, विज्ञान, अंग्रेजी र कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउने योजना घोषणापत्रमा समावेश गरिएको छ। साथै, Education with Skill अवधारणाअनुसार CTEVT मार्फत सीपमूलक, प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरी युवालाई आत्मनिर्भर बनाउने नीति उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य सेवामा सुधार र विपन्न नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता रहेको छ।
कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोग, सिँचाइ सुविधा विस्तार, किसानलाई अनुदान तथा सहुलियत ऋणको व्यवस्था र कृषि उत्पादनको बजार सुनिश्चित गर्ने नीति घोषणापत्रमा समेटिएको छ। रोजगारी सृजनाका लागि सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःस्थापनालाई प्राथमिकता दिइएको छ।
सडक, पुल, खानेपानी, विद्युत् र सञ्चारजस्ता भौतिक पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन मार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य पनि घोषणापत्रमा उल्लेख छ। डा. चौधरीले समावेशी विकास, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्दै पर्सा–४ को समग्र विकासमा प्रतिबद्धता व्यक्त गरेका छन्।
















