Logo

२७ माघ,वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ का लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका उद्योगी अनिल रुंगटा र नेकपा एमालेका प्रदीप यादव जस्ता ‘ह्यावीवेट’ उम्मेदवार मुख्य ध्यानमा छन्।

तर यसपटक चुनावी प्रतिस्पर्धा पुराना नेताहरू मात्रको नभई नयाँ राजनीतिक शक्तिहरूको उदयले थप रोचक बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ लहर र युवाहरूको नयाँ रोजाइले परम्परागत मतदाताहरूलाई समेत विचलित बनाएको छ।

रास्वपाले जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि) लाई उम्मेदवार बनाएको छ। ‘जेनजी’ आन्दोलनपछि युवाहरूमा लोकप्रिय बनेका रास्वपामा काठमाडौंका बालेन शाहको सहभागिताले पनि क्षेत्रीय राजनीतिक वातावरणलाई तातो बनाएको छ। मतदाताहरूले खुलेरै नयाँ शक्ति र घण्टी प्रती आकर्षण देखाइरहेका छन्, जसले कांग्रेस र एमालेका पुराना नेताहरूलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ।

नेपाली कांग्रेसका रुंगटा २०७० सालको संविधानसभा सदस्य हुन्। पार्टी नेतृत्वसँग नजिक रहेको भए पनि मतदाताले उनलाई चुनावको बेला मात्र देख्ने र स्थानीयसँग सघन सम्पर्क नराख्ने नेताका रूपमा चिन्ने गरेका छन्। अर्कातर्फ, एमालेका यादवमाथि अवसरवादी र अस्थिर नेताको छवि छ। विगतमा पार्टीसँगको विरोधात्मक अभिव्यक्तिहरूले यसपटक चुनावमा चुनौती बढाएको विश्लेषकहरूले बताएका छन्।

यस क्षेत्रमा अन्य प्रतिस्पर्धी पनि कम छैनन्। एमालेका अजय चौरसिया, रास्वपाका नवलकिशोर (नन्दु) श्रीवास्तव र जसपा नेपालका रामनरेश यादवले मतदातामा प्रभाव पार्ने देखिन्छ।

विशेषगरी, धर्म र राष्ट्रियताको मुद्दा उठाउने साना दलका उम्मेदवारहरूले पनि मत आकर्षित गर्न सक्छन्। रास्वपा उम्मेदवार नन्दु श्रीवास्तव वीरगन्ज महानगरपालिकामा परिवारिक प्रभावको बलमा केही मत थप्ने आँकलन गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, पर्सा–१ मा यसपटकको निर्वाचन पुराना ‘ह्यावीवेट’ नेताहरूको प्रतिष्ठाको लडाइँ जस्तो देखिन्छ। तर अन्तिम निर्णय मतदाताको हातमा छ र त्यसको परिणाम फागुन २१ गतेको मतदानपछि मात्र स्पष्ट हुनेछ।


सम्बन्धित समाचार