२८ माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आयोगको मंगलबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन तोकिएको समय सीमाभित्रै अनिवार्य रूपमा घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आफ्नो निर्वाचन घोषणापत्र तयार गरी आयोगमा बुझाउनुपर्नेछ। यस्तै, प्रत्यक्षतर्फका उम्मेदवारहरूले पनि आ-आफ्नो प्रतिबद्धता पत्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
फागुन २१ को निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । “निर्वाचनमा दलहरूले जनतासमक्ष गर्ने बाचा र योजनाहरू पारदर्शी होउन् भन्ने उद्देश्यले यो समय सीमा तोकिएको हो,” आयोगका एक अधिकारीले बताए ।
घोषणापत्रमा दलहरूले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि लिने नीति तथा कार्यक्रमहरू समावेश गर्नुपर्नेछ। तोकिएको समयभित्र घोषणापत्र पेस नगर्ने दल वा उम्मेदवारलाई आचारसंहिता उल्लंघन बमोजिम कारबाही हुन सक्ने समेत आयोगले संकेत गरेको छ।
















