Logo

२८ माघ, सिरहा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचारलाई मुलुकको ‘महारोग’को संज्ञा दिँदै यसका विरुद्ध कठोर कदम चाल्ने उद्घोष गरेका छन् । मंगलबार सिरहाको गोलबजारमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अबको पाँच वर्ष कांग्रेसले भ्रष्टाचार विरुद्धको अभियानलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले भने, “नेपाललाई भ्रष्टाचारको महारोगले गाँजेको छ। यसको उपचार अब अनिवार्य भइसकेको छ। भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्न एउटा ‘जिहाद’ र एउटा ठूलो संग्रामकै आवश्यकता छ, जसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ।”

आगामी निर्वाचनको सन्दर्भ जोड्दै सभापति थापाले पार्टीभित्रैबाट सुधारको संकेत दिने प्रतिबद्धता जनाए। उनले अबका दिनमा कांग्रेसका कुनै पनि नेता वा कार्यकर्तालाई भ्रष्टाचार गर्ने वा गलत कार्यमा संलग्न हुने छुट नभएको प्रस्ट पारे। “हामी यो अभियान आफ्नै घर (पार्टी) बाट सुरु गर्छौं र भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने सङ्कल्प पूरा गर्छौं,” उनले थपे ।

निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो गरी कार्यक्रम स्थल आइपुगेका थापाले कार्यकर्ताहरूसँग क्षमायाचना समेत गरे। उनले यात्राका क्रममा साथीहरूले अपेक्षा गरेभन्दा फरक र थप कार्यक्रमहरू आयोजना गरेका कारण समय व्यवस्थापनमा चुनौती थपिएको र गोलबजार पुग्न ढिलाइ भएको स्पष्टीकरण दिए ।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। थापाको यो अभिव्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसको मुख्य एजेन्डा ‘सुशासन’ हुने संकेतका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार