२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको दुरुपयोगलाई केवल कानुनी छिद्र वा सामान्य त्रुटिका रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले पद र शक्तिको आडमा कसैले पनि कानुनी जबाफदेहिताबाट उन्मुक्ति पाउनु हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउनु पर्नेमा जोड दिए । सार्वजनिक शक्तिलाई व्यक्तिगत स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा राज्य र नागरिकबीचको भरोसा टुट्ने र यसले समग्र शासन प्रणालीप्रति नै निराशा पैदा गर्ने उनको धारणा थियो ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारलाई आर्थिक वा नैतिक विचलन मात्र नभई नागरिकका भविष्यका सपना र आस्थामाथि गरिने गहिरो आघात भएको बताएका छन् । मानिसमा सत्ता, शक्ति र धन प्रतिको मोह बढ्दै जाँदा प्रणाली र पद्धतिको दुरुपयोग बढेको उल्लेख गर्दै उनले ुम भ्रष्टाचार गर्दिन र हुन पनि दिन्नु भन्ने दृढ संकल्प र सदाचारलाई जीवन पद्धतिको अंग बनाउनु पर्ने आवश्यकता औँल्याए । नीति, प्रविधि र प्रवृत्तिमा सुधार ल्याई अनुशासनको विकास गर्न सके भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्न असम्भव नरहेको उनको विश्वास थियो । लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सुशासन अनिवार्य सर्त भएको भन्दै उनले सबै प्रकारका अनियमिततालाई छानबिनको दायरामा ल्याउनै पर्ने बताए ।
नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य नै सहज सेवा प्रवाह र समृद्धि भएको स्मरण गराउँदै राष्ट्रपति पौडेलले हालै युवा पुस्ताले गरेको संघर्षमार्फत प्रकट भएको चाहनालाई कसैले भुल्न नहुने सचेत गराए । भ्रष्टाचार विरुद्धको लडाइँलाई कुनै एउटा निकायको मात्र नभई राज्यका सबै अंग, राजनीतिक नेतृत्व र नागरिक समाजको साझा अभियानका रूपमा अघि बढाउनु पर्ने उनको भनाइ थियो ।
विशेष गरी राजनीतिक पदाधिकारीहरूको कार्यसंस्कृतिमा आउने सकारात्मक परिवर्तनले नै प्रशासनिक क्षेत्रलाई मार्गनिर्देश गर्ने हुँदा यसका लागि बलियो राजनीतिक प्रतिबद्धता पहिलो अनिवार्य सर्त भएको उनले प्रस्ट पारे ।
















