Logo

 २८ माघ,काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) आजदेखि फिल्डमा खटिने भएका छन्। भर्ना तथा छनोट प्रक्रिया पूरा गरी १० दिने तालिम सकेका एक लाख ४९ हजार जना निर्वाचन प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै सुरक्षा ड्युटीमा परिचालित हुन लागेका हुन्।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई गत माघ १८ गते नियुक्तिपत्र प्रदान गरेको थियो।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि माघ २१ गतेदेखि नै नेपाली सेना परिचालन भइसकेको छ।

सुरक्षा व्यवस्थाअनुसार मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ भने सबैभन्दा बाहिरी घेरामा नेपाली सेना परिचालित रहनेछ।

सम्बन्धित निकायले बहु–तह सुरक्षा व्यवस्थामार्फत मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै