Logo

२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विश्व अर्थतन्त्रलाई मात्र नभई सामाजिक संरचना र भावी पुस्ताको भविष्यलाई समेत गम्भीर संकटमा पारेको चेतावनी दिएका छन् ।

बुधबार काठमाडौँमा आयोजित सम्पत्ति शुद्धीकरण सम्बन्धी एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा वार्षिक ३।६ बिलियन डलर बराबरको राजस्व नोक्सानी गराउने यस्ता अपराधले नेपाल जस्ता विकासोन्मुख देशहरूको बैंकिङ प्रणालीमा गहिरो चोट पुर्याइरहेको बताए । वित्तीय अपराधको आर्थिक क्षति त छँदै छ, त्योभन्दा भयावह यसको मानवीय र सामाजिक मूल्य रहेको उल्लेख गर्दै उनले यसले धनी र गरिबबीचको खाडललाई अझ फराकिलो बनाउँदै लगेको टिप्पणी गरे ।

गभर्नर पौडेलले विशेष गरी युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने बढ्दो प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । सिर्जनशीलता र नवप्रवर्तनमा लाग्नुपर्ने कलिला मस्तिष्कहरूलाई अवैध धन ओसारपसारको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उनको तर्क थियो । अपराधीहरूले कानुनी छिद्र, नियामक कमजोरी र प्रविधिको दुरुपयोग गर्दै सीमाविहीन रूपमा पैसाको ओसारपसार गर्ने गरेको भन्दै उनले परम्परागत अनुसन्धान भन्दा पनि अत्याधुनिक ुनिरोधात्मक सुपरीवेक्षणु मा जोड दिए । वित्तीय समावेशीकरणको मर्मलाई कायम राख्दै जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गरेर मात्र यस्ता संगठित अपराधलाई नियन्त्रण गर्न सकिने उनले स्पष्ट पारे ।

वित्तीय अपराध विरुद्धको लडाइँलाई सफल बनाउन कुनै एक निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै गभर्नर पौडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी जस्ता सबै नियामक निकायहरूले एकीकृत रक्षापंक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । प्रारम्भिक चरणमै शंकास्पद कारोबारको पहिचान र हस्तक्षेप गर्न सकेमा मात्र वित्तीय संस्थाहरूको प्रतिष्ठा जोगिने र उपचारको ठूलो लागतबाट बच्न सकिने उनको भनाइ थियो ।

आजको जोखिमलाई मात्र टारेर नपुग्ने भन्दै उनले भोलिको अनिश्चितता र प्रविधिले निम्त्याउन सक्ने नयाँ चुनौतीहरूको सामना गर्न सक्ने गरी सुदृढ र भरपर्दो वित्तीय प्रणाली निर्माणमा सबै पक्षलाई एकजुट हुन आह्वान गरे ।


सम्बन्धित समाचार
भर्खरै