२८ माघ,वीरगञ्ज । क्रिप्टोकरेंसी कारोबारमार्फत झन्डै २० करोड रुपैयाँ बराबरको अवैध आम्दानी गरेको आरोपमा कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले दायर गरेको अभियोगपत्रमा सेफले गैरकानुनी रूपमा १९ करोड ८१ लाख ४९ हजार ६८१ रुपैयाँ बराबरको कारोबार गरेको उल्लेख छ। उक्त रकम जफत गर्न, बिगोको दोब्बर जरिवाना असुल गर्न तथा कसुरको प्रकृति हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय माग गरिएको छ। बरामद गरिएका मोबाइल फोन र सिमकार्डसमेत जफत गर्न मागदाबी गरिएको छ।
प्रहरीले उनलाई २०८२ मंसिर १० गते काठमाडौंको भद्रकाली क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउपछि गरिएको अनुसन्धानमा उनको ‘बाइनन्स’ एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता डिजिटल मुद्रामा उल्लेख्य कारोबार भएको भेटिएको जनाएको छ।
अनुसन्धानका क्रममा सेफले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, मुक्तिनाथ विकास बैंक, सिद्धार्थ बैंकलगायत १० भन्दा बढी बैंक प्रयोग गरी ठूलो परिमाणमा रकम ओसारपसार गरेको खुलेको छ। बैंक विवरण विश्लेषण गर्दा डेबिटतर्फ करिब ६ करोड ६१ लाख रुपैयाँ र क्रेडिटतर्फ ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको देखिएको छ।
प्रहरीसमक्ष दिएको बयानमा सेफले करिब ८–९ महिना अघि मुराध आलम नामक व्यक्तिमार्फत क्रिप्टो कारोबारमा प्रवेश गरेको बताएका छन्। मुराधले उच्च नाफाको प्रलोभन देखाउँदै बाइनन्स खाता खोलिदिएको र कारोबार सिकाएको उनले स्वीकार गरेका छन्। त्यसक्रममा उनले अन्य व्यक्तिलाई डिजिटल मुद्रा बिक्री गर्ने कार्यसमेत गरेको खुलेको छ।
उनले सो कार्यबापत मासिक २०० देखि २५० अमेरिकी डलर पारिश्रमिक पाउने गरेको बयान दिएका छन्। उक्त मुद्दामा अदालतमा थप प्रक्रिया अघि बढ्ने जनाइएको छ।
















