२८ माघ, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पलाई ‘प्रतिज्ञापत्र’का रूपमा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले फागुन २ गतेभित्रै उक्त प्रतिज्ञापत्र आधिकारिक रूपमा सार्वजनिक गर्नेछ । बुधबार बिहान पत्रकारहरूसँगको कुराकानीमा प्रवक्ता चालिसेले पार्टीको सम्पूर्ण तयारी फागुन १ गतेका लागि भए पनि प्राविधिक कारणले ढिलो हुँदा २ गतेभित्र कुनै पनि हालतमा घोषणापत्र बाहिर ल्याइने स्पष्ट पारेका हुन् ।
निर्वाचन आयोगले सबै राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो । आयोगको उक्त कडा निर्देशनपछि कांग्रेसले आफ्नो आन्तरिक तयारीलाई तीव्र पार्दै समयसीमाभन्दा एक दिन अगावै प्रतिज्ञापत्र ल्याउन लागेको हो । यो पटक कांग्रेसले परम्परागत घोषणापत्र शब्दलाई परिवर्तन गरी जनतासामु गरिने प्रतिबद्धताको प्रतीकका रूपमा ुप्रतिज्ञापत्रु नाम दिएको छ, जसले पार्टीको चुनावी एजेन्डा र भावी योजनालाई अझ गम्भीरताका साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
फागुन २१ गते हुने भनिएको यो निर्वाचनलाई देशको राजनीतिक स्थायित्व र विकासका लागि निर्णायक मानिएको छ । कांग्रेसको यस प्रतिज्ञापत्रमा आर्थिक सुधार, सुशासन र युवा पुस्ताका आकांक्षालाई कसरी सम्बोधन गरिन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड र समयसीमाभित्रै सबै तयारी पुरा गरी चुनावी मैदानमा होमिने कांग्रेसको रणनीति रहेको देखिन्छ ।
















