२८ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधबार पर्सागढी नगरपालिका–३ स्थित झाबराह टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै कानुले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचार अन्त्य गर्न राजनीतिक परिवर्तन अपरिहार्य भएको बताए। उनले भने, “सबै जात, समुदाय, धर्म, लिङ्ग र संस्कृतिबाट आउने व्यक्तिहरू अट्ने समुन्नत समाज निर्माणका लागि अब नयाँ सोच र नयाँ नेतृत्व आवश्यक छ। त्यसका लागि घण्टी छापमा मतदान गरेर रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउनुहोस्।”
उम्मेदवार कानुले पर्सा–२ बाट विगतमा विभिन्न दलका प्रतिनिधि निर्वाचित भए पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सृजनाजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय सुधार हुन नसकेको दाबी गरे। उनले स्थानीय युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको भन्दै अब परिणाममुखी र जबाफदेही नेतृत्वको आवश्यकता रहेको बताए।
कानुले रास्वपाको चुनावी एजेन्डा प्रस्तुत गर्दै सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, कृषिमा आधुनिकीकरण, साना तथा मझौला उद्यम प्रवद्र्धनमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।
उहाँले रास्वपासँग देशका हरेक क्षेत्रमा समान र सन्तुलित विकास गर्न सक्ने स्पष्ट योजना र सक्षम टिम रहेको दाबी गर्दै परिवर्तन चाहने सम्पूर्ण मतदातालाई रास्वपा रोज्न आग्रह गरे। घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
















