Logo

२८ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वले आसन्न निर्वाचनमा आफ्नो पक्षमा स्पष्ट बहुमत आउने दाबी गर्दै देशभर चुनावी अभियानलाई तीव्र बनाउन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत पार्टीको पक्षमा देशभर सकारात्मक जनलहर सिर्जना भएको विश्लेषण गरिएको हो । उनीहरूले अबको निर्वाचनबाट संसदमा बहुमत प्राप्त गरी सरकारको नेतृत्व गर्ने र पार्टीको घोषित नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने दिशामा शक्ति केन्द्रित गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

नेतृत्वले मतदाताको समर्थन क्रमिक रूपमा बढ्दै गएकाले विजय सुनिश्चित भएको आत्मविश्वास व्यक्त गर्दै निर्वाचन परिचालनमा कुनै पनि कसर बाँकी नराख्न कडा निर्देशन दिएका छन् । पार्टी जिम्मेवारीमा रहेका पदाधिकारीदेखि साधारण सदस्यसम्म सबैलाई चुनावी मैदानमा सक्रिय हुन भनिएको छ । विशेषगरी, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गर्ने वा पार्टी हितविपरीत गतिविधिमा संलग्न हुने जोसुकै सदस्यलाई पनि तुरुन्त कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । यसका लागि टोल र बुथ स्तरसम्मै निर्वाचन परिचालन समितिलाई विस्तार गरी सुरक्षा र निगरानी बढाउन नेतृत्वले निर्देश गरेको छ ।

निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन बुथमा खटिने स्वयंसेवकहरूलाई विशेष प्रशिक्षण र अभिमुखीकरण प्रदान गर्नसमेत पार्टीले निर्देशन दिएको छ। मतदान प्रक्रियादेखि मतगणनाको अन्तिम परिणाम नआएसम्म आफ्ना प्रतिनिधिहरूलाई सचेत र सक्रिय रहन भनिएको छ । चुनावी प्रचारप्रसारलाई सरल, शालीन र मितव्ययी बनाउन जोड दिँदै निर्वाचन आयोगको आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ । पार्टीको घोषणापत्र र मुख्य एजेन्डाहरूलाई जनताको घरदैलोसम्म सरल भाषामा पुर्‍याई जनमत आफ्नो पक्षमा पार्ने रणनीति नेकपाले अख्तियार गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै