२८ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ। ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई ५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो।
महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य तथा समाज दुवैको दायित्व भएको बताए। उहाँले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुने उद्देश्यले महानगरले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा जानकारी दिँदै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका बालबालिकालाई लक्षित गरी सहयोग प्रदान गरिएको बताइन्। उनका अनुसार रातो र निलो कार्डधारी अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट मासिक भत्ता पाउँछन्, तर सेतो र पहेंलो कार्डधारीले आर्थिक सहयोग नपाउने भएकाले विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यकताका लागि सहयोग उपलब्ध गराइरहेको स्पष्ट पारिन्।
सहयोग प्राप्त गर्ने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्। अभिभावकहरूले यस्तो सहयोगले बालबालिकाको पढाइ निरन्तरता दिन सहज हुने र थप हौसला मिल्ने बताएका छन्।
महानगर र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले अपाङ्गता भएका बालबालिकाको शिक्षा, समावेशिता र आत्मनिर्भरता प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
















