Logo

२८ माघ,वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमार्फत चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५ सय ७२ रेल्वे र्‍याकमार्फत मालवस्तु र सामान भित्रिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समिति, वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार, भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’ समस्याका कारण यस वर्षको रेल्वे र्‍याक संख्या गत वर्षकै तुलनामा केही घटेको हो। गत आर्थिक वर्षकै ६ महिनामा ५ सय ८८ रेल्वे र्‍याकमार्फत मालसामान भित्रिएका थिए।

वीरगञ्जमा भारतको कोलकाता, हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसामान ल्याइन्छ। एक पटकमा ४० फिट क्षमताका ४५ कन्टेनर वा २० फिट क्षमताका ९० कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

सुक्खा बन्दरगाहमा विशेषगरी स्पन्ज आइरन, रासायनिक मलखाद, जिप्सन, फलाम र कोइला आयात गरिन्छ। प्रिस्टिन भ्यालीका अपरेशन इन्चार्ज अभिषेक मिश्रका अनुसार भारतीय रेल्वे प्रणालीमा दुई महिनाअघि देखिएको समस्या अहिले क्रमिक रूपमा कम हुँदै गइरहेको छ। उनले कोलकाताबाट मालवाहक रेल्भ्याक वीरगञ्ज पुग्न झन्डै ८ दिन र विशाखापटनमबाट १० दिन लाग्ने पनि जानकारी दिए।


सम्बन्धित समाचार