२८ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले बुधबार वीरगन्जमा भव्य ‘रोड शो’ गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा मंगलबारदेखि सप्तरीबाट चुनावी अभियान सुरु गरेका शाह बुधबार दिउँसो वीरगन्ज पुगेका हुन्।
वीरगन्ज–१५ प्रतिमा चोकबाट महानगर क्षेत्रमा प्रवेश गरेका शाहले गाडीबाटै रोड शो गर्दै भानु चोक, नगवा, इनर्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माईस्थान पार गर्दै घण्टाघर चोक पुगेका थिए।
घण्टाघर चोकमा शाहलाई स्वागत गर्न हजारौंको संख्यामा जेन–जी पुस्ताका युवायुवतीहरू भेला भएका थिए। शाह त्यहाँ पुग्दा समर्थकहरूले ‘अबकी बार बालेन सरकार’ र ‘जय घण्टी’ जस्ता नारा लगाउँदै स्वागत गरेका थिए। शाहले गाडीबाटै हात हल्लाउँदै र घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन गरेका थिए।
रोड शोमा रास्वपाबाट पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरू हरि पन्त, सुशील कानु, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य पनि एउटै गाडीमा सहभागी भएका थिए।
घण्टाघरबाट सुरु भएको रोड शो मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै बाराको जितपुर–सिमरातर्फ प्रस्थान गरेको रास्वपाबाट पर्सा–२ का उम्मेदवार सुशील साह कानुले जानकारी दिए।

















