Logo

२८ माघ,काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचौँ भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार थापासहित १३ जनालाई प्रतिवादी कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा दायर गरिएको मुद्दामा थापाविरुद्ध ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ बिगो दाबी गरिएको छ।

अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने तथा हाल ‘भरत ताल’का रूपमा विकास गरिएको बागमती माछा पोखरी निर्माणका क्रममा वन पैदावर उत्खनन गरी बिक्री–वितरण गर्दा कानुनबमोजिम उठाउनुपर्ने रोयल्टी/राजस्व असुल नगरी मिलेमतोमा भ्रष्टाचार गरिएको हो।

आरोपपत्रमा सात करोड ३८ लाख ९३ हजार ५०८ क्यूफिट वन पैदावर उत्खनन गरी त्यसबापत उठाउनुपर्ने ५८ करोडभन्दा बढी रकम बराबरको रोयल्टी राजस्व नउठाई हिनामिना गरिएको उल्लेख छ।

यस मुद्दामा सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, निमित्त प्रमुख देवेशमणि त्रिपाठी, राम किशोर यादव, प्रेमीलाल प्रसाद कलवार, सहायक वन अधिकृतहरू चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्र प्रसाद चौधरी, कार्यालय प्रमुख जितेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोला यादवलाई पनि प्रतिवादी बनाइएको छ।

त्यसैगरी बागमती नगरपालिकाका तत्कालीन उपमेयर लीलाकुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेलसमेत मुद्दामा प्रतिवादी छन्।

भरत थापाविरुद्ध दायर भएको यो पाँचौँ मुद्दा हो। यसअघि उनीविरुद्ध चार मुद्दा दायर भइसकेका छन्, जसमा तीन वटा भ्रष्टाचार र एउटा वनसम्बन्धी मुद्दा रहेका छन्। तीमध्ये दुई मुद्दामा उनी दोषी ठहर भइसकेका छन्।


सम्बन्धित समाचार