२९ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अन्तिम चरणमा पुर्याएको छ। केन्द्रका अनुसार हाल दैनिक १५ लाखका दरले मतपत्र छपाइ भइरहेको छ र शुक्रबारसम्ममा प्रत्यक्षतर्फका सबै मतपत्र छापिसक्ने लक्ष्य राखिएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले बुधबारसम्म एक करोड ५३ लाख थान मतपत्र छपाइ सम्पन्न भइसकेको जानकारी दिए। प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छाप्नुपर्नेमा अब ५० लाख थान मात्र बाँकी रहेको छ।
यसअघि दैनिक १३ लाखका दरले मतपत्र छापिँदै आएकोमा अहिले क्षमता विस्तार गरी १५ लाख पुर्याइएको छ। प्रबन्ध सञ्चालक पौडेलले भने, “प्रत्यक्षतर्फको छपाइ तीव्र गतिमा भइरहेको छ। शुक्रबार साँझसम्म सक्ने हाम्रो लक्ष्य हो, ढिलोमा शनिबारसम्म सबै काम सम्पन्न हुनेछ।”
केन्द्रका अनुसार उम्मेदवारको संख्याका आधारमा कतिपय जिल्लामा ठूलो र कतिपयमा सानो आकारको मतपत्र छाप्नुपर्ने भएकाले छपाइमा केही समय लागेको हो। यसअघि नै केन्द्रले दुई करोड आठ लाख ३० हजार थान समानुपातिकतर्फको मतपत्र छापेर प्याकिङसमेत गरिसकेको छ।
छापिएका मतपत्रहरू आज बिहीबारदेखि नै जिल्ला-जिल्लामा पठाउन सुरु गरिने केन्द्रले जनाएको छ। ढुवानीको पहिलो प्राथमिकतामा दुर्गम क्षेत्रका जिल्लाहरू रहेका छन्।
“आजदेखि ढुवानी सुरु गर्दैछौँ,” पौडेलले भने, “फागुन १० देखि १२ गतेभित्र देशका सबै जिल्लाका निर्वाचन कार्यालयहरूमा मतपत्र पुर्याइसक्ने गरी व्यवस्थापन मिलाइएको छ।” यसअघि नै आयोगले १० लाख थान नमुना मतपत्र विभिन्न स्थानमा पुर्याइसकेको छ।
















