Logo

२९ माघ, काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा इटालीको सामना गर्दैछ । भारतको ऐतिहासिक वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३:०० बजे सुरु हुने यस खेलमा नेपाल पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

आफ्नो पहिलो खेलमा विश्वविजेता इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपालका लागि आजको खेल सुपर ८ को यात्रा जीवन्त राख्न निकै महत्वपूर्ण मानिएको छ । उता, पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको इटाली पनि अनुभवी टोली नेपाललाई स्तब्ध पार्ने दाउमा छ ।

सन् २०१४ र २०२४ पछि तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई हराएयता विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । आजको खेल जितेर नेपाल १० वर्ष लामो विश्वकपको जितविहीन यात्रालाई पूर्णविराम लगाउन चाहन्छ। इटाली भने पहिलोपटक विश्वकप खेलिरहेको नयाँ टोली हो ।

समूह ‘सी’ मा रहेका नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन टोली हुन् । अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्। शीर्ष स्थानमा २ खेलमा २ जितसहित वेस्ट इन्डिज (४ अंक) रहेको छ भने स्कटल्यान्ड र इंग्ल्यान्डको समान २-२ अंक छ ।

“सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपाललाई आज फराकिलो जितको आवश्यकता छ । यसका साथै समूहका अन्य खेलको नतिजा पनि नेपालको पक्षमा आउनु पर्ने समीकरण देखिन्छ।”

माघ २४ गतेदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु भएको यस विश्वकपमा नेपालसहित २० राष्ट्रको सहभागिता रहेको छ । समूहका शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् ।


सम्बन्धित समाचार