२९ माघ, काठमाडौँ । बंगलादेशमा बिहीबार बिहानदेखि देशभर आमनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । विद्यार्थी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री शेख हसिना अपदस्त भएको १८ महिनापछि हुन लागेको यो निर्वाचनलाई राजनीतिक रूपान्तरणपछिको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ ।
देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान शुरु भएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्। निर्वाचन आयोगका अनुसार मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहनेछ। यस निर्वाचनमा १२ करोड ७७ लाख मतदाता सहभागी हुने अपेक्षा गरिएको छ, जसमा ६ करोड ४८ लाख पुरुष र ६ करोड २८ लाख महिला मतदाता रहेका छन् ।
संसदका प्रतिनिधि चयनसँगै ‘जुलाई नेशनल चार्टर’ सम्बन्धी जनमतसंग्रहमा पनि मतदान भइरहेको छ । उक्त चार्टरले आगामी वर्षहरूमा बंगलादेशको शासन प्रणालीको दिशा तय गर्ने अपेक्षा गरिएको छ। प्रस्तावित व्यवस्थामा संविधान संशोधन, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाबीच शक्ति सन्तुलन सुदृढीकरण, निर्वाचन प्रणाली सुधार, मानवअधिकार र जवाफदेहिता सुनिश्चितता तथा भ्रष्टाचार नियन्त्रण र संस्थागत पारदर्शिता अभिवृद्धि जस्ता विषय समावेश छन् ।
निर्वाचनमा ५० राजनीतिक दलका १ हजार ७५५ उम्मेदवार प्रतिस्पर्धामा छन् भने २७३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभाका कुल ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको छ। एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षामा सेना, नौसेना, वायुसेना, बोर्डर गार्ड, कोस्ट गार्ड, प्रहरी, र्यापिड एक्शन बटालियन, अन्सार तथा भीडीपी, बीएनसीसी क्याडेट र स्थानीय सुरक्षाकर्मी परिचालित छन्। साथै, १ हजार ५१ कार्यकारी मजिस्ट्रेटलाई फेब्रुअरी १४ सम्मका लागि परिचालन गरिएको छ। सशस्त्र बललाई ‘इन एड टु सिभिल पावर’ प्रावधानअन्तर्गत नागरिक प्रशासनलाई सहयोग गर्ने गरी खटाइएको छ।
प्रहरी महानिरीक्षक बहारुल आलमका अनुसार प्रत्येक मतदान केन्द्रमा स्थायी सुरक्षा व्यवस्था गरिएको छ भने बाहिरी क्षेत्रमा मोबाइल गस्ती टोली र आवश्यक परे हस्तक्षेप गर्न स्ट्राइकिङ युनिट तयारी अवस्थामा राखिएको छ। मतपत्र तथा निर्वाचन सामग्री कडा सुरक्षाबीच केन्द्रहरूमा पुर्याइएको छ र मतदान तथा मतगणनाको निगरानीका लागि हजारौं कर्मचारी खटिएका छन्।
यसपटकको निर्वाचन मुख्यतः तारिक रहमान नेतृत्वको बिएनपी र जमात–ए–इस्लामी नेतृत्वका दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धात्मक बनेको छ। कम्तीमा १ हजार ४०० जनाको ज्यान जाने गरी भएको दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
सन् २०२४ को जुलाईमा सुरु भएको आन्दोलन हिंसात्मक बन्दा तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भारत गएकी थिइन्, जहाँ उनी हाल निर्वासनमा छिन्। मुख्य सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचनको दिनलाई “नयाँ बंगलादेशको जन्मदिन” बनाउन आह्वान गरेका छन्। उनले मतदाताले नै देशको भविष्यको इतिहास लेख्ने बताएका छन्।
















