Logo

२९ माघ, काठमाडौँ । झापाबाट राजधानी फर्कन लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने राजावादी समूहहरूको योजनामा स्थानीय प्रशासनले पूर्ण बन्देज लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक विशेष सूचना जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भीडभाड, प्रदर्शन वा र्‍याली जस्ता गतिविधि गर्न नपाइने स्पष्ट पारेको हो । सामाजिक सञ्जालमार्फत स्वागतका लागि आह्वान गरिएका कार्यक्रमहरूको कुनै पूर्वस्वीकृति नलिइएको र यसले सुरक्षा चुनौती बढाउन सक्ने प्रशासनको ठहर छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा आसन्न निर्वाचनको संवेदनशीलता र फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको सुरक्षा व्यवस्थापनलाई मुख्य कारणका रूपमा अघि सारिएको छ । विमानस्थल जस्तो अति नै संवेदनशील क्षेत्रमा हुने प्रदर्शनले हवाई यात्रुहरूको आवागमनमा अवरोध पुऱ्याउने मात्र नभई, निर्वाचनविरोधी समूहहरूको घुसपैठ हुन सक्ने जोखिम समेत रहेको प्रशासनले औँल्याएको छ । धार्मिक र सांस्कृतिक आस्थाको सम्मान गर्दै शिवरात्रिलाई भव्य बनाउनुपर्ने समयमा सुरक्षा व्यवस्थालाई खलल पुऱ्याउने कुनै पनि कार्य नगर्न प्रशासनले सचेत गराएको छ ।

प्रशासनले सामाजिक सञ्जालमार्फत यस्ता कार्यक्रममा सहभागी हुन उक्साउने वा प्रेरित गर्नेहरूमाथि पनि कडा निगरानी राखिने जनाएको छ । निषेधित र संवेदनशील क्षेत्रमा कानुनको उल्लंघन गरी भेला जम्मा हुने वा प्रदर्शन गर्ने जो(कसैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । हवाई सुरक्षा र सार्वजनिक शान्ति कायम राख्नका लागि प्रशासनले लिएको यो कठोर अडानले पूर्वराजाको स्वागतका लागि तयारी गरिरहेका समूहहरूलाई पछि हट्न बाध्य पारेको छ ।


सम्बन्धित समाचार