२९ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं। २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन यसपटक विशेष चासोका साथ हेरिएको छ। लामो समयदेखि एउटै अनुहार दोहोरिँदै आएको यो क्षेत्रमा अब मतदाताको मनोविज्ञान बदलिँदै गएको संकेत देखिन थालेको छ। पुराना अनुभवी नेताहरू र पहिलोपटक संसदीय राजनीतिमा होमिएका नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ।
अजयकुमार चौरसिया : अनुभव र निरन्तरताको दाबी
नेपाली कांग्रेसले २०५६ सालदेखि पर्सा–२ (पूर्व क्षेत्र नं. ३)बाट अजयकुमार चौरसियालाई निरन्तर उम्मेदवार बनाउँदै आएको छ। २०५६ सालको आमनिर्वाचन जित्दै संसदीय यात्राको सुरुआत गरेका चौरसियाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि विजय हासिल गरेका थिए।
तर त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले पराजय भोग्नुपरेको थियो। २०७९ सालमा भने उनी पुनः निर्वाचित हुँदै संघीय संसद्मा फर्किए। हाल ६१ वर्ष पुगेका चौरसिया चौथोपटक सांसद बन्ने प्रयासमा छन्।
उनी २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रालयका सहायकमन्त्री बनेका थिए। २०८१ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका उनले दुईपटक मन्त्री र तीनपटक सांसदको अनुभव बटुलिसकेका छन्।
२०७९ सालको निर्वाचनमा उनले २८ हजार ४५१ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएका थिए। त्यसबेला सत्ता गठबन्धनका कारण एमालेले कांग्रेस उम्मेदवार चौरसियालाई समर्थन गरेको थियो।
तर २०७४ सालमा भने उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालका बिमलप्रसाद श्रीवास्तवसँग १ हजार ४६५ मतान्तरले पराजित भएका थिए। यसले पर्सा–२ को मत परिणाम स्थिर नभई समयअनुसार परिवर्तनशील रहने देखाएको छ।
एमालेबाट नयाँ अनुहार : रिमा कुमारी यादव
यसपटक नेकपा (एमाले)ले उम्मेदवार परिवर्तन गर्दै २९ वर्षीया रिमा कुमारी यादवलाई मैदानमा उतारेको छ। वीरगञ्ज–१४ चिनिमिल लिंकरोड निवासी रिमा अधिवक्ता प्रधुमनप्रसाद यादवकी श्रीमती हुन्। केही समय शिक्षण पेशामा संलग्न रहेकी उनी हाल गृहिणीका रूपमा पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराका अनुसार युवालाई अवसर दिने नीति र वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीले रिमालाई उम्मेदवार बनाएको हो।
राजनीतिक पारिवारिक पृष्ठभूमि नभए पनि सानैदेखि राजनीतिलाई नजिकबाट हेर्दै–बुझ्दै आएको र अहिले घरदैलो अभियानका क्रममा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर सिक्ने अवसर पाइरहेको रिमाले बताएकी छन्। युवा र महिला प्रतिनिधित्वको सवालमा उनको उम्मेदवारीलाई एमालेले ‘नयाँ सन्देश’का रूपमा प्रस्तुत गरेको छ।
रास्वपाबाट सुशीलकुमार कानुस् स्थानीय जनप्रतिनिधिबाट संघीय दौड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सुशीलकुमार कानु पनि प्रतिस्पर्धामा छन्। वीरगञ्ज महानगरपालिका–१० का निर्वाचित वडाध्यक्ष कानुले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन्।
२०७९ सालमा जसपा नेपालबाट वडाध्यक्ष निर्वाचित भएका कानुले त्यसअघि २०७४ सालमा १२० मतले पराजय बेहोरेका थिए। २०७९ मा भने कांग्रेस उम्मेदवारलाई ३७३ मतले हराउँदै उनी वडाध्यक्ष बनेका थिए। स्थानीय तहको अनुभव बोकेका कानुले अहिले संघीय राजनीतिमा ‘वैकल्पिक शक्ति’का रूपमा आफूलाई प्रस्तुत गरेका छन्।
जसपाबाट अशोक टेमानी : व्यवसायबाट राजनीतिमा
जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी (अशोककुमार अग्रवाल)लाई उम्मेदवार बनाएको छ। व्यवसायिक पृष्ठभूमिबाट आएका टेमानी वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन्।
औपचारिक रूपमा पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका टेमानीले निजी क्षेत्रको अनुभवलाई विकास र रोजगारी सिर्जनासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। आर्थिक समृद्धि र उद्यमशीलताको मुद्दालाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
अन्य प्रतिस्पर्धीहरू पनि मैदानमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वीना जैसवाल उम्मेदवार छिन्। उनी यसअघि समानुपातिक सांसद भइसकेकी छन् र २०७९ सालमा वीरगञ्ज महानगरपालिकाको उपप्रमुख पदमा पनि उम्मेदवार बनेकी थिइन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट अमिताभ बचन दास उम्मेदवार छन्। बहुदरमाई–४ निवासी दास विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। २०६२–६३ को जनआन्दोलनमा १५ महिना जेल बसेका उनले सामाजिक सेवाका गतिविधिमा सक्रिय भूमिका खेल्दै आएका छन्।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)बाट रन्जु साह उम्मेदवार छिन्। जनक शिक्षा सामग्री केन्द्रको जागिर छोडेर राजनीतिमा प्रवेश गरेकी उनले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेकी छन्।
मतदाता संख्या र निर्वाचन तयारी
पर्सा–२ मा कुल ५३ हजार ७१७ मतदाता रहेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि १५ स्वतन्त्रसहित ३२ जनाले उम्मेदवारी दर्ता गराएका थिए। मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य राजेश्वर साह तेलीले स्वतन्त्र उम्मेदवारी दिएका भए पनि पछि सहमतिपछि फिर्ता लिएका छन्।
निर्वाचन कार्यालयका अनुसार ३८ मतदानस्थलका ११० मतदान केन्द्रबाट मतदान हुनेछ। उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, नेकपा, जनअधिकार पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जय मातृभूमि पार्टी लगायतका दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
बदलिँदो मतदाताको मनोविज्ञान
यसपटकको निर्वाचनमा ‘अनुभव बनाम परिवर्तन’ मुख्य बहस बनेको छ। लामो समयदेखि एउटै अनुहारलाई मत दिँदै आएका मतदातामाझ विकास, रोजगारी, सुशासन र युवा सहभागिताका सवालले नयाँ चर्चा सुरु गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–२ को परिणाम गठबन्धन, जातीय समीकरण, स्थानीय मुद्दा र उम्मेदवारको व्यक्तिगत छविले निर्धारण गर्नेछ।
अब हेर्न बाँकी छ—पर्सा–२ ले निरन्तरतामा विश्वास गर्छ कि नयाँ विकल्प रोज्दै राजनीतिक सन्देश दिन्छ। निर्वाचन परिणामले मात्र यसको उत्तर दिनेछ।
















