Logo

२९ माघ, काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले भोलि फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

सार्वजनिक सूचना अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये ९ वटाले मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कटौती गरेका छन् भने बाँकी ११ वटा बैंकले माघ महिनाकै दरलाई निरन्तरता दिँदै स्थिर राखेका छन् । बजारमा तरलताको अवस्था र बैंकिङ प्रणालीको रणनीति अनुसार बैंकहरूले ब्याजदरमा सामान्य हेरफेर गरेका हुन् ।

ब्याजदर घटाउने बैंकहरूको सूचीमा सिद्धार्थ, एभरेष्ट, नेपाल एसबीआई, प्राइम र कृषि विकास बैंक रहेका छन्, जसले फागुनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४ दशमलव २५ प्रतिशतमा झारेका छन् । यसअघि माघ महिनामा सिद्धार्थले ४ दशमलव ५५ प्रतिशत र अन्य चार बैंकले ४ दशमलव ४ प्रतिशत ब्याज दिँदै आएका थिए । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डले ४ दशमलव २५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमाले ४ दशमलव ५ प्रतिशत तथा ग्लोबल आइएमई बैंकले ४ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गर्दै अघिल्लो महिनाको तुलनामा दर घटाएका छन् । माघमा यी बैंकहरूको ब्याजदर तुलनात्मक रूपमा उच्च रहेको थियो ।

अर्कातर्फ, नबिल, प्रभु, एनएमबि, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, र नेपाल बैंकसहित ११ बैंकले भने फागुनमा ब्याजदर नचलाउने निर्णय गरेका छन् । यी बैंकहरूमा नेपाल बैंकले सबैभन्दा बढी ५।१ प्रतिशत र कुमारी बैंकले ४ दशमलव ४३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै सिटिजन्स र लक्ष्मी सनराइजले ४ दशमलव ५ प्रतिशत तथा अन्य अधिकांश बैंकले ५ प्रतिशतकै हाराहारीमा ब्याजदर कायम राखेका छन् ।

निक्षेपको ब्याजदरमा आएको यो निरन्तर गिरावटले आगामी दिनमा बैंकहरूको आधार दर सस्तो भई कर्जाको ब्याजदर समेत घट्न सक्ने संकेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै