Logo

२९ माघ, काठमाडौँ । एसियाली विकास बैंक ९एडीबी० ले नेपाली नागरिक सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशक पदमा नियुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय विकास र अर्थशास्त्रको क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव सँगाल्नुभएकी श्रेष्ठले अब दक्षिण एसियाका ६ राष्ट्रहरू— नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकामा एडीबीका रणनीतिक योजना तथा सञ्चालन गतिविधिको नेतृत्व सम्हाल्नुहुनेछ । एडीबीको यति उच्च तहमा पुग्ने थोरै नेपालीहरूमध्ये श्रेष्ठ एक बन्नुभएको छ, जसले नेपालका लागि गर्वको विषय थपेको छ ।

यसअघि सोही विभागको उपमहानिर्देशकका रूपमा कार्यरत श्रेष्ठसँग एडीबीभित्रै २३ वर्ष र समग्रमा २७ वर्षको कार्य अनुभव छ । उहाँले यसअघि एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागको उपमहानिर्देशक, सहायक सचिव तथा दक्षिण–पूर्वी एसियाली क्षेत्रीय विभागमा वित्तीय क्षेत्र र व्यापार सम्बन्धी निर्देशक जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गर्नुभएकी श्रेष्ठले फिलिपिन्स र इन्डोनेसिया जस्ता देशहरूमा समेत देशिय अर्थशास्त्री र निर्देशकका रूपमा काम गरी क्षेत्रीय अर्थतन्त्रको गहिरो ज्ञान हासिल गर्नुभएको छ ।

आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले दक्षिण एसियाली क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर समावेशी र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । सन् १९६६ मा स्थापना भएको एडीबीले एसिया र प्रशान्त क्षेत्रमा पूर्वाधार निर्माण र जीवनस्तर सुधारका लागि काम गर्दै आएको छ । श्रेष्ठको यो नेतृत्वले दक्षिण एसियामा एडीबीको लगानी र रणनीतिक साझेदारीलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार