२९ माघ, काठमाडौं । लामो समयको राजनीतिक उथलपुथलपछि बंगलादेशमा आज नयाँ संसद चयनका लागि मतदान भइरहेको छ ।
झन्डै ३५ वर्षपछि मुलुकले शेख हसिना र खालिदा जिया बाहिरको नयाँ प्रधानमन्त्री पाउने सुनिश्चित भएको यस ऐतिहासिक निर्वाचनमा उत्साहसँगै हिंसाका घटनाहरू पनि देखिएका छन् । मतदानका क्रममा खुल्नास्थित एक मतदान केन्द्र बाहिर भएको झडपमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का नेता मोहिबुज्जमान कोचीको दुखद मृत्यु भएको छ । बीएनपीले कोचीलाई जमात-ए-इस्लामीका कार्यकर्ताले धकेलेर रुखमा ठोकाउँदा मृत्यु भएको आरोप लगाएको छ भने जमातले त्यसलाई हृदयाघातको संज्ञा दिएको छ । यसबाहेक मुन्सीगन्ज र गोपालगञ्जका विभिन्न स्थानमा कच्चा बम विष्फोट हुँदा सुरक्षाकर्मी र एक बालिकासहित केही व्यक्ति घाइते भएका छन् ।
यसपटकको निर्वाचनमा मुख्यतया तीनवटा शक्ति र पात्रहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । १७ वर्षको निर्वासनपछि गत जनवरीमा स्वदेश फर्किएका बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री पदको सबैभन्दा बलियो दाबेदारका रूपमा उभिनुभएको छ । हालै गरिएको एक सर्वेक्षणले उहाँको पार्टीलाई ७० प्रतिशत हाराहारीमा जनसमर्थन रहेको देखाएको छ, जसलाई उहाँकी आमा खालिदा जियाको निधनपछिको सहानुभूति र उहाँले अघि सारेको हरित क्षेत्र निर्माण तथा प्राविधिक शिक्षाको एजेन्डाले थप बल पुऱ्याएको छ । रहमानले आफूलाई शान्त र नीति-केन्द्रित नेताका रूपमा प्रस्तुत गर्दै बंगलादेशको नयाँ भविष्यको खाका कोर्ने प्रयास गरिरहनुभएको छ ।
अर्कातर्फ, कट्टरपन्थी मानिने जमात-ए-इस्लामीका प्रमुख सिफुकर रहमान पनि प्रधानमन्त्रीको दौडमा अग्रपंक्तिमा हुनुहुन्छ । पाकिस्तान समर्थक छविका कारण केही वर्गमा उहाँको आलोचना भए तापनि व्यवस्थित भोट बैंक र पश्चिमी देशहरूको रणनीतिक सामीप्यताले उहाँलाई बलियो प्रतिस्पर्धी बनाएको छ ।
त्यस्तै, सन् २०२४ को चर्चित विद्यार्थी आन्दोलनका नायक नाहिद इस्लामले पनि राष्ट्रिय नागरिक पार्टी (एनसीपी) मार्फत युवा र विद्यार्थीहरूको ठूलो हिस्सालाई आकर्षित गरिरहनुभएको छ । १२ करोड ७० लाख मतदाता सहभागी रहेको यस निर्वाचनमा विशेष गरी पहिलोपटक मतदान गर्ने ४५ लाख युवाहरूको भूमिका निर्णायक हुने देखिएको छ ।
















