२९ माघ,काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज इटालीसँगको खेलमा टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ रोजेका हुन्।
नेपालको यो प्रतियोगितामा दोस्रो खेल हो। पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हार भोगेको थियो। समूह ‘सी’ मा नेपाल चौथो र इटाली पुछारमा रहेको छ।
टी–२० विश्वकपमा आज भएको अर्को खेलमा श्रीलंकाले ओमानलाई १०५ रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। आजै बेलुकी सवा ७ बजे भारत र नामिबिया बीच तेस्रो खेल हुँदैछ।
प्रतियोगितामा २० टोली चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर–एट मा प्रवेश गर्नेछन्। सुपर–एटमा चार–चार टोली दुई समूहमा बाँडिनेछन् र समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा आयोजना हुने तालिका छ।
















