२९ माघ,काठमाडौं ।बंगलादेशमा बिहीबार जारी संसदीय निर्वाचनका क्रममा दुई समूहबीच भएको झडपमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।
खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको घटनामा खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव मोहिबुज्जमान कोचीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
खुलना महानगर प्रहरी (केएमपी) का आयुक्त मोहम्मद जहीदुल हसनले बीबीसी बांग्लासँग घटनाको पुष्टि गर्दै बिहान दुवै पक्षबीच भनाभन भएको र त्यस क्रममा कोचीको स्वास्थ्य अवस्था बिग्रिएको बताएका छन्। अस्पताल पुर्याइएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
स्थानीय बिएनपी नेताहरूले भने विवादका क्रममा धक्का लागेर कोची रूखमा ठोक्किएको र त्यसपछि उनको अवस्था गम्भीर बनेको आरोप लगाएका छन्। खुलना–२ का बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे मतदान केन्द्रमा प्रचारसम्बन्धी विषयमा विवाद हुँदा घटना भएको थियो। प्रहरीले भने चोट लागेर मृत्यु भएको हो वा होइन भन्ने विषयमा स्पष्ट जानकारी दिएको छैन।
देशभर कडा सुरक्षा
विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना अपदस्त भएको १८ महिनापछि बंगलादेशमा निर्वाचन भइरहेको हो। देशभरका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरु भएको छ भने अपराह्न साढे ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।
कुल १२ करोड ७७ लाख मतदाता रहेको यस निर्वाचनमा ५० दलका १ हजार ७५५ उम्मेदवार तथा २७३ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभाका ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको छ भने एक उम्मेदवारको निधनपछि शेर्पुर–३ क्षेत्रमा मतदान स्थगित गरिएको छ।
निर्वाचन शान्तिपूर्ण बनाउन करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। सेना, नौसेना, वायुसेना, बोर्डर गार्ड, प्रहरी, र्यापिड एक्शन बटालियन, अन्सार तथा भीडीपी लगायतका सुरक्षा निकायलाई ‘इन एड टु सिभिल पावर’ प्रावधानअन्तर्गत परिचालन गरिएको छ।
यसैबीच, संसद् प्रतिनिधि चयनसँगै जुलाई नेसनल चार्टरसम्बन्धी जनमत संग्रहमा पनि मतदान भइरहेको छ। उक्त चार्टरमार्फत संविधान संशोधन, शक्ति सन्तुलन, निर्वाचन सुधार, मानवअधिकार सुनिश्चितता र भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रावधानहरू लागू गर्ने प्रस्ताव गरिएको छ।
यसपटकको निर्वाचनमा तारिक रहमान नेतृत्वको बिएनपी र जमात–ए–इस्लामी नेतृत्वका गठबन्धनबीच मुख्य प्रतिस्पर्धा रहेको छ। दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
मुख्य सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले निर्वाचनलाई “नयाँ बंगलादेशको जन्मदिन” का रूपमा लिन आह्वान गर्दै मतदाताले नै देशको भविष्य निर्धारण गर्ने बताएका छन्।
















