काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बहुचर्चित ‘भिजिट भिसा’ सेटिङ प्रकरणमा मुछिएका मुख्य बिचौलिया खेमप्रसाद सुवेदीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । अदालतमा हाजिर हुन निवेदन दिएर स्वयम् उपस्थित भएका सुवेदीलाई थुनामा नराखी धरौटीमा रिहा गर्ने निर्णय भएपछि उनलाई कानुनी प्रक्रिया पुर्याएर बाहिरिने बाटो खुलेको छ ।
यो प्रकरण अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसँगको मिलेमतोमा भएको ठूलो आर्थिक अनियमितता र सम्पत्ति शुद्धीकरणको जालोसँग जोडिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदीमाथि सहसचिव भट्टराईले घुसबापत आर्जन गरेको अवैध धन लुकाउन र त्यसलाई वैध बनाउन सक्रिय भूमिका खेलेको अभियोग लगाएको छ । अनुसन्धानका क्रममा सुवेदीले भक्तपुरको दधिकोटमा रहेको जग्गा भट्टराईसँग सम्बन्धित कविता पौडेलको नाममा पास गराइदिएर भ्रष्टाचारको रकम लगानी गर्न सहयोग गरेको तथ्य फेला परेको अख्तियारको दाबी छ ।
गत मङ्सिर २५ गते दायर गरिएको मुद्दामा अख्तियारले सुवेदी विरुद्ध भ्रष्टाचारतर्फ ७९ लाख ८० हजार र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी कडा सजायको माग गरेको थियो । यसअघि नै मुख्य प्रतिवादी तीर्थराज भट्टराई ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेको अवस्थामा सुवेदीलाई पनि अदालतले धरौटीमै छाड्ने आदेश दिएको हो । भिजिट भिसाका नाममा सर्वसाधारणबाट असुली गरिएको करोडौँ रकमको यो काण्डले अध्यागमन प्रशासनभित्रको गहिरो भ्रष्टाचारको जालोलाई उदाङ्गो पारेको छ ।
















