Logo

२९ माघ,सेढवा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका पर्सा क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। यसै क्रममा उनले आज जिराभवानी गाउँपालिका वडा नं. २, सेढवामा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका दौरान थारुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए। सहभागीहरूका अनुसार घरदैलो अभियानका क्रममा नेपाली कम्युनिष्ट पार्टीप्रति उल्लेखनीय जनसमर्थन देखिएको थियो।

स्थानीय मतदाताहरूले विगतका विकास निर्माणका कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा थप विकास र समृद्धिको अपेक्षा राखेका छन्। “बिहानदेखि बेलुकासम्म र आवश्यक परे रातिसमेत जनताको काममा खटिने नेताको आवश्यकता छ,” भन्दै केही स्थानीयवासीले थारुलाई क्षेत्र नं. ४ का लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सारेका छन्।

यद्यपि घरदैलो कार्यक्रम औपचारिक स्वरूपको भए पनि मतदाताको उत्साह र सहभागिताले चुनावी माहोल तातेको देखिएको छ। मतदाताहरूले यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीसँग नै हुने आकलन गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार समग्र माहोल हेर्दा पर्सा क्षेत्र नं. ४ मा जयप्रकाश थारुको पक्षमा सकारात्मक संकेत देखिएको छ।


सम्बन्धित समाचार