Logo

२९ माघ,काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै समेटियो।

नेपालको सुरुआत राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै ८ रनको कुल स्कोरमा आउट भए। त्यसपछि कप्तान रोहित पौडेलले १४ बलमा २ चौका सहित २३ रन जोड्दै इनिङलाई गति दिए। पावरप्लेमा नेपालले १ विकेटको क्षतिमा ४६ रन बनाएको थियो।

तर सातौँ ओभरपछि विकेट पतन सुरु भयो। रोहित आउट भएपछि आफिफ शेख २० रन बनाएर स्टम्प आउट भए। १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रन बनाएको नेपाललाई त्यसपछि पनि दबाब कायम रह्यो।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। दीपेन्द्र १७ रनमा बोल्ड भए भने आरिफले सर्वाधिक २७ रन (२४ बल, ३ चौका) बनाए।

लोकेश बम ३ रनमै आउट भए। त्यसपछि विकेट जाने क्रम रोकिएन। गुल्सन झा ३ रनमा, नन्दन यादव शून्यमा रनआउट भए। अन्तिम ओभरमा सन्दीप लामिछाने ५ रनमा आउट हुँदा ललित राजवंशी पनि खाता खोल्न सकेनन्। करण केसी भने ११ बलमा १ चौका र १ छक्का सहित १८ रन जोड्दै नटआउट रहे।

इटालीका स्पिनर बेन मानेन्टी घातक सावित भए। उनले ४ ओभरमा ९ रन मात्र खर्चेर किफायती बलिङ गरे। देब्रेहाते स्पिनर कलुगामागेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली पनि स्कटल्यान्डसँग हारेको थियो। दुवै टोलीका लागि आजको खेल जित अनिवार्य जस्तै रहेको छ।

नेपालले यस खेलपछि आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।


सम्बन्धित समाचार