२९ माघ, काठमाडौं । स्टक मार्केटमा सक्रिय धेरै लगानी कर्ताहरुले बारम्बार एउटै कुरा अनुभव गर्ने गरेका हुन्छन्–‘कुनै शेयर किनेपछि त्यसको मूल्य घट्छ र बेच्ने बित्तिकै मूल्य बढ्छ ।’
यस्तो अनुभवले कतिपयलाई “के बजार कसैले नियन्त्रित गरिरहेको हो ?” किन सधै म सित मात्र यस्तो हुन्छ ? भन्ने जस्ता ख्यालहरु जन्माउन सक्छ । तर बजारका अनुभवी लगानी कर्ताहरुका अनुसार यसको मुख्य कारण बजार होइन, लगानीकर्ताको मनोविज्ञान हो ।
Binance ले गरेको एक अध्ययनअनुसार स्टक तथा शेयर बजारमा ट्रेड गर्ने करिब ९५ प्रतिशत सहभागीले दीर्घकालीन रूपमा नाफा कमाउन नसकेको देखिएको छ । यसले लगानीमा ज्ञान मात्रै होइन, मानसिक पक्ष कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ ।
विश्लेषण मात्रै पर्याप्त किन हुँदैन ?
अधिकांश लगानीकर्ता प्राविधिक विश्लेषण र आधारभूत विश्लेषणमा आधारित भएर निर्णय लिन्छन् । यद्यपि यी दुवै महत्वपूर्ण भए पनि, केवल यही आधारमा गरिएको लगानीले अपेक्षित नतिजा नदिन सक्ने विश्लेषकहरू बताउँछन् ।
बजारमा सफल हुन अनुशाषन, खरिद विक्री मनोविज्ञान र ‘माइण्डसेट’ पनि उत्तिकै आवश्यक हुन्छ । रणनीति सही हुँदा पनि भावना हावी भयो भने निर्णय कमजोर वा गलत हुन सक्छ ।
मानव मस्तिष्क र जोखिम प्रतिको प्रतिक्रिया
मानव मस्तिष्क हजारौँ वर्षदेखि खतरा पहिचान गरी शरीरलाई बचाउने अभ्यासमा विकसित भएको हो । त्यसैले जोखिम देख्दा मस्तिष्कले छिटो र भावनात्मक प्रतिक्रिया दिन्छ । आजको बजारमा खतरा शारीरिक नभएर आर्थिक भए पनि, मस्तिष्कको प्रतिक्रिया भने पुरानै ढाँचामा हुन्छ—डर, लोभ र आवेग ।
मनोविज्ञानमा यसलाई ‘ह्यूरिस्टिक्स’ भनिन्छ, अर्थात् छिटो निर्णय लिन प्रयोग गरिने मानसिक ‘सर्टकट’ । ट्रेडिङमा यही ‘सर्टकट’ प्रायः ‘प्याटर्न’ र ‘इन्डिकेटर्स’ को अति प्रयोगका रूपमा देखिन्छ ।
तर, सजिलो देखिने निर्णयले दीर्घकालीन रूपमा ठूलो गल्ती निम्त्याउन सक्छ । सबैलाइ उही नै निर्णय बताउने ‘इन्डिकेटर्स’ हरुले के सधैँ काम गर्ला त ? र गरे यो कत्तिको फलदायी हुन सक्छ भन्ने हिसाव गर्न जरुरी छ ।
FOMO अवसर छुट्ने डर
स्टक मार्केटमा देखिने सबैभन्दा सामान्य मानसिक पूर्वाग्रह हो FOMO( फियर अफ मिसिङ आउट) बजार तल हुँदा किन्ने हिम्मत नआउने, मूल्य बढ्न थालेपछि “अब त छुट्यो” भन्ने डर लाग्ने र उच्च मूल्यमा किनेपछि सानो गिरावटमै बेच्न नसक्ने अवस्था यही ‘फोमो’ को परिणाम हो ।
विश्लेषकहरूका अनुसार, बजारलाई निरन्तर चलिरहने प्रणालीका रूपमा हेर्नु जरुरी छ । एउटा अवसर छुटे पनि अर्को अवसर आउने सम्भावना सधैं रहन्छ । यही दृष्टिकोणले ‘फोमो’ नियन्त्रण गर्न सहयोग पु¥याउँछ ।
जस्तैः बजारलाई रेल स्टेशन, जहा रेल छुटेपनि अर्को रेल आइहाल्छ भन्ने जस्तो ठाउको रुपमा हेर्न जरुरी छ । जसरी एउटा रेल छुटेपनि अर्को आउछ भन्ने आत्मा विश्वास हुन्छ त्यसरी नै बजारमा एउटा ‘ट्रेण्ड’ छुटेपनि अर्को पर्खाैला भन्ने सोँच राखे ‘फोमो’ लाई सजिलै जित्न सकिन्छ ।
इम्पल्सिभ ट्रेडिङ/ओभरट्रेडिङ
योजना र रणनीति बिना गरिएको किनबेचलाई ‘इम्पल्सिभ ट्रेडिङ’ भनिन्छ । यसैको अर्को रूप हो, ‘ ओभरट्रेडिङ, जहाँ छिटो नाफा कमाउने चाहनाले अत्याधिक ट्रेड गरिन्छ । यस्तो व्यवहारले मानसिक थकान बढाउँछ र वास्तवमै राम्रो अवसर आउँदा लगानीयोग्य पूँजी नहुने समस्या सिर्जना गर्छ ।
धेरै लगानीकर्ताले “किनेपछि घट्ने, बेचेपछि बढ्ने” अनुभव गर्नुको कारण यही भावनात्मक निर्णय हो । ‘सपोर्ट जोन’ आउने वित्तिकै किनिहाल्नु पर्ने र ‘रेजिस्टेन्स जोन’ आउने वित्तिकै बेचिहाल्नु पर्ने जस्ता कुराहरु यसका उदाहरण हुन सक्छन् ।
के बजार सपोर्टमा किन्ने र रेजिस्टेन्समा बेच्ने विचार धाराले मात्र चलेको छ र ? यति मात्र जाने पुग्ने भए किन ९५ प्रतिशतले लगानी गुमाएको भन्ने कुरा फेरी पनि मनन गर्न जरुरी छ ।
‘रिभेन्ज ट्रेडिङ’ घाटा पूर्ति गर्ने दबाब
लगातार घाटा हुँदा मस्तिष्कले पीडाबाट बच्न खोज्छ, जसका कारण केही लगानीकर्ता अझै ठूलो र जोखिमपूर्ण ट्रेडमा प्रवेश गर्छन् । यसलाई ‘रिभेन्ज ट्रेडिङ’ भनिन्छ । विशेषज्ञहरूका अनुसार ‘रिभेन्ज ट्रेडिङ’ ले घाटाको चक्रलाई अझ गहिरो बनाउँछ, किनकि निर्णय रणनीतिमा होइन, भावनामा आधारित हुन्छ ।
“डुबिसकेको लगानीको भ्रम”
Sunk Cost Fallacy अर्को महत्वपूर्ण मानसिक पूर्वाग्रह हो । यसमा लगानीकर्ताले पहिले नै पैसा लगाइसकेको कारण घाटामा रहेको शेयर बेच्न नसक्ने अवस्था सिर्जना हुन्छ । उदाहरणका लागि, १०० रुपैंयामा किनेको शेयर ८० रुपैंयाँमा झरेपछि पनि “अब त फिर्छ” भन्ने आशामा ‘होल्डिङ’ गरिरहने सोचले सानो घाटालाई ठूलो घाटामा बदल्न सक्छ । विज्ञहरूका अनुसार यसबाट बच्न पूर्वनिर्धारित ‘एक्जिट स्ट्राटेजी’, ‘स्टप–लस’ र स्पष्ट ‘रिस्क–रिवार्ड’ योजना अनिवार्य हुन्छ ।
“डर किन्नुहोस्,लोभ बेच्नुहोस्”
बजारको समय ठ्याक्कै अनुमान गर्ने कुनै निश्चित सूत्र छैन । तर लगानी जगतका चर्चित सिद्धान्तमध्ये एक हो—’Buy the fear, sell the greed’ जब बजारमा अत्यधिक लोभ हावी हुन्छ, प्रोफिट बुकिङ उपयुक्त हुन सक्छ । जब डरको माहोल हुन्छ, जोखिम क्षमता अनुसार क्रमिक लगानीले अवसर सिर्जना गर्न सक्छ ।
अन्ततः स्टक मार्केट केवल तथ्यांक र चार्टको खेल मात्र होइन, यो मानव मनोविज्ञानको खेल पनि हो । टेक्निकल/ फण्डामेन्टल एनालाइसिस जति नै बलिया भए पनि, मानसिक पूर्वाग्रह नियन्त्रण गर्न नसक्दा अधिकांश लगानीकर्ता घाटामा पर्छन् । त्यसैले दीर्घकालीन सफलताका लागि बजार बुझ्नु जति आवश्यक छ, आफ्नो मन बुझ्नु पनि उत्तिकै आवश्यक रहेको विश्लेषकहरूको निष्कर्ष छ ।
लेखकः सौहार्द सिग्देल शेयर लगानीकर्ता
















