१ फागुन, काठमाडौँ । बंगलादेशमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) ले स्पष्ट बहुमत हासिल गर्ने निश्चितप्रायः देखिएको छ । कुल ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि बिहीबार भएको मतदानपछि सार्वजनिक प्रारम्भिक मतपरिणामले बिएनपीलाई सरकार गठनको बलियो अवस्थामा पुर्याएको हो ।
ढाका ट्रिब्युनका अनुसार बिएनपी तथा उसका गठबन्धन दलका उम्मेदवारहरूले हालसम्म १५० सिटमा जित सुनिश्चित गरिसकेका छन् भने मतगणना जारी रहेका अधिकांश क्षेत्रमा पनि उनीहरूकै अग्रता कायम छ। यस्तै, डेली स्टारले बिएनपी दुई तिहाई नजिक पुग्ने दिशातर्फ अघि बढेको जनाएको छ।

बिएनपी केन्द्रीय निर्वाचन सञ्चालन समितिका प्रवक्ता महदी अमिनले प्रारम्भिक नतिजा र जारी मतगणनाको प्रवृत्तिले दुई तिहाई बहुमतसहित सरकार बन्नेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।
पार्टी अध्यक्ष तारिक रहमान तथा महासचिव मिर्जा फखरूल इस्लाम आलमगीर आ–आफ्नो निर्वाचन क्षेत्रबाट विजयी भएका छन्। तारिक रहमान ढाका–१७ र बोगुरा–६ दुवै क्षेत्रबाट निर्वाचित भएका हुन् ।
तारिक रहमान पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन् । खालिदाको गत महिनामात्रै निधन भएको थियो। लामो समय बेलायत बसोबासपछि अन्तरिम सरकार गठन भई निर्वाचन घोषणा भएपछि तारिक स्वदेश फर्किएका थिए ।
प्रारम्भिक परिणामअनुसार जमात ए इस्लामी ४३ सिटसहित प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ। केही सञ्चारमाध्यमहरूले भने उसका सहयोगीसहित करिब ६० सिट जित्ने दाबी गरेका छन् ।
विद्यार्थी आन्दोलनबाट उदाएको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिट जितेको दाबी गरेको छ । पार्टी संयोजक नाहिद इस्लाम ढाका-११ मा अग्रता लिइरहेका छन्।
निर्वाचन आयोगले अन्तिम आधिकारिक नतिजा सार्वजनिक गरिसकेको छैन। मतगणना जारी रहेकाले परिणाम क्रमशः आउने क्रममा छन् ।
निर्वाचन आइतबार बिहान ७:३० बजेदेखि साँझ ४:३० बजेसम्म देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।
निर्वाचनसँगै ‘जुलाई नेशनल चार्टर’ सम्बन्धी जनमतसंग्रह पनि सम्पन्न भएको छ । संविधान संशोधन, राज्यका तीन अंगबीच शक्ति सन्तुलन, निर्वाचन प्रणाली सुधार, मानवअधिकार संरक्षण, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित प्रावधान समेटिएको उक्त प्रस्तावमा ६५.३ प्रतिशत मत संविधान संशोधनको पक्षमा खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
















