Logo

१ फागुन, काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राष्ट्रिय संकट समाधानका लागि सबै राष्ट्रिय शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका उनले ‘जनयुद्ध दिवस’को अवसरमा शुभकामना सन्देश दिँदै आगामी फागुन २१ गतेको निर्वाचनलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्राको प्रारम्भ बिन्दु बनाउनुपर्नेमा जोड दिए ।

रुकुमपूर्वबाट सम्बोधन गर्दै उनले सहिदहरूको सपना साकार पार्ने ऐतिहासिक जिम्मेवारी अहिलेको पुस्तामाथि आएको उल्लेख गरे । “हामी सहिदका सपना पूरा गर्ने, रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ,” उनले भने, “म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु।”

रुकुम पूर्वमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले देशको वर्तमान परिस्थिति जटिल बनेको टिप्पणी गरे । ‘जेनजी आन्दोलन’ र त्यसपछिका घटनाक्रमले राष्ट्रलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको उनको भनाइ थियो ।

“जेन–जी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो, त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ । त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदै छौँ,” उनले भने, “मेरो लागि एकातिर गर्वको कुरा र अर्कोतिर निकै ठूलो जिम्मेवारीको विषय भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुमपूर्व आएर मनाउँदै छु।”

आफू रुकुमपूर्वको प्रत्यक्षतर्फको उम्मेदवारसमेत रहेको उल्लेख गर्दै उनले जनयुद्धको ऐतिहासिक योगदानलाई वर्तमान राजनीतिक रूपान्तरणसँग जोडेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी निर्वाचनमार्फत देशलाई स्थायित्व, सुशासन र समाजवादी दिशातर्फ अघि बढाउने अभियानलाई सशक्त बनाइने उनले बताए ।


सम्बन्धित समाचार
भर्खरै