Logo

१ फाल्गुण, काठमाडौँ । आसन्न निर्वाचनका लागि राजनीतिक दलहरू घोषणापत्रको होडबाजीमा होमिएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्नो चुनावी सारथि (घोषणापत्र) सार्वजनिक गर्न केही दिन ढिला गर्ने भएको छ ।

निर्वाचन आयोगले फागुन ३ गतेभित्रै घोषणापत्र बुझाउन निर्देशन दिएको भए पनि प्राविधिक तयारी र मस्यौदाको अन्तिम अध्ययन बाँकी रहेकाले एमालेले उक्त समयसीमा नाघ्ने सङ्केत गरेको हो । झापा भ्रमणबाट फर्किएलगत्तै अध्यक्ष केपी शर्मा ओली घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिन र थपघट गर्नुपर्ने बुँदाहरू मिलाउन व्यस्त रहनुभएकाले निर्धारित समयमै सार्वजनिक गर्न कठिन भएको पार्टी स्रोतले जनाएको छ ।

पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार घोषणापत्र निर्माणको काम तीव्र गतिमा भइरहे पनि अध्यक्षको सूक्ष्म अध्ययन र परिमार्जन विना यसलाई सार्वजनिक नगर्ने नीति लिइएको छ । यसपटक एमालेले अघिल्ला निर्वाचनका तुलनामा निकै छोटो र छरितो तर राष्ट्रियतालाई मूल एजेन्डा बनाएर घोषणापत्र ल्याउने तयारी गरेको छ । अध्यक्ष ओलीकै संयोजकत्वमा गठित उच्चस्तरीय मस्यौदा कमिटीमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेलसहितका प्रभावशाली नेताहरूले विज्ञहरूको सुझावका आधारमा खाका तयार पारिसकेका छन् ।

निर्वाचन आउन २० दिन मात्रै बाँकी रहँदा अन्य दलहरूमा पनि घोषणापत्र सार्वजनिक गर्ने चटारो देखिएको छ। नेपाली कांग्रेसले फागुन २ गते नै आफ्नो प्रतिज्ञापत्र ल्याउने घोषणा गरिसकेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले आजै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अझै टुङ्गो लगाउन बाँकी रहँदा कतिपय साना दलहरूले भने महत्त्वाकाङ्क्षी योजनासहित यसअघि नै आफ्ना एजेन्डाहरू बजारमा ल्याइसकेका छन् । एमालेको यो ढिलाइले उसको ‘रणनीतिक दस्ताबेज’ कस्तो आउला भन्ने विषयमा राजनीतिक वृत्तमा चासो र चर्चा दुवै चुलिएको छ ।


सम्बन्धित समाचार
भर्खरै