Logo

१ फाल्गुण, काठमाडौँ । झापाको केही दिनको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ फर्कनुभएको छ ।

प्रतिकूल मौसमका कारण नियमित उडान प्रभावित भएपछि उहाँ बुद्ध एयरको पूर्वनिर्धारित जहाज छाडेर कैलाश हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । विमानस्थल सुरक्षा कार्यालयका अनुसार उडानमा ढिलाइ हुने भएपछि उहाँले आकस्मिक रूपमा हेलिकप्टर प्रयोग गर्ने निर्णय लिनुभएको थियो ।

पूर्वराजा अवतरण हुनुअघि नै विमानस्थल बाहिर उहाँका समर्थक र राजावादीहरूको ठुलो समूह भेला भइसकेको थियो । उहाँको स्वागतका लागि भेला भएका समर्थकहरूले विभिन्न नाराबाजी गर्दै विमानस्थल क्षेत्रको माहोल निकै तातो बनाएका थिए । भिडभाडका बीच कुनै अप्रिय वा उच्छृङ्खल गतिविधि हुन नदिन प्रहरीले विमानस्थल र आसपासका क्षेत्रमा कडा सुरक्षा पहरा दिएको छ। सुरक्षा संयन्त्रले स्थितिलाई नियन्त्रणमा राख्न उच्च सतर्कता अपनाएको देखिन्थ्यो ।

विमानस्थलबाट उहाँलाई विशेष सुरक्षा घेराभित्र राखेर निर्मल निवासतर्फ लैजाने तयारी गरिएको छ । पछिल्लो समय राजावादी शक्तिहरू सडकमा सक्रिय भइरहेका बेला पूर्वराजाको यो फिर्ती र विमानस्थलमा देखिएको समर्थकहरूको उपस्थितिलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । विमानस्थल वरपर सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिका कारण केही बेर सवारी आवागमन र सर्वसाधारणको हिँडडुलमा समेत प्रभाव परेको थियो ।


सम्बन्धित समाचार
भर्खरै