Logo

१ फाल्गुन, काठमाडौँ । आसन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले विशेष सुरक्षा रणनीतिसहितको निर्देशन जारी गर्नुभएको छ ।

शनिबार भर्चुअल माध्यमबाट सातै प्रदेशका प्रहरी प्रमुख र मातहतका युनिटहरूलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई एक राष्ट्रिय सङ्कल्पका रूपमा लिएर सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको हो । निर्वाचनको समयमा सुरक्षा चुनौतीहरू थपिन सक्ने भन्दै महानिरीक्षक कार्कीले सम्भावित जोखिमको समयमै सूचना संकलन र विश्लेषणलाई उच्च प्राथमिकतामा राख्न जोड दिनुभएको छ ।

महानिरीक्षक कार्कीले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा प्रहरीको सक्रियता अपरिहार्य रहेको बताउँदै अवाञ्छित गतिविधि वा कानुन विपरीतका कार्यमा संलग्न जोकोहीलाई पनि तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ । ‘कुनै पनि निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूलाई सम्बोधन गर्न प्रहरी सदैव तयारी हालतमा रहनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले सुरक्षा निकायको प्रभावकारिता बढाउन नियमित पूर्वअभ्यास र भरपर्दो सुरक्षा संयन्त्रको परिचालनमा कुनै कसर बाँकी नराख्न समेत सचेत गराउनुभएको छ ।

सोही अवसरमा आइजीपी कार्कीले सातै प्रदेशका प्रहरी प्रमुखहरूसँग वर्तमान शान्ति सुरक्षाको अवस्था र निर्वाचनको पूर्वतयारीबारे विस्तृत जानकारी लिनुभएको थियो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, महानिरीक्षकले मतदान केन्द्रको सुरक्षा, उम्मेदवारहरूको सुरक्षा र मतदाताले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग समन्वय गरी अघि बढ्न विशेष मार्गदर्शन गर्नुभएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रहरीले आफ्नो सम्पूर्ण शक्ति र स्रोतसाधनलाई सुरक्षा व्यवस्था मजबुत बनाउन केन्द्रित गरेको यस निर्देशनले प्रस्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै