Logo

१ फागुन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१९ बिन्दवासिनीमा आज नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार रिमा यादवले पर्सा–२ को समग्र विकासका लागि आफूले स्पष्ट योजना अघि सारेको बताइन्। उनले सीपमूलक तालिम विस्तार, प्राविधिक शिक्षाको प्रवर्द्धन, आधुनिक कृषि प्रणालीको विकास, पशुपालन प्रवर्द्धन तथा स्वास्थ्य सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यादवले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित प्रत्येक वडामा ‘कृषि क्लिनिक’ स्थापना गर्ने योजना रहेको उल्लेख गरिन्। “किसानलाई समयमै मल, बिउ र प्राविधिक परामर्श उपलब्ध गराउने नीति निर्माण गर्दै कृषि क्षेत्रमा सुधार ल्याइनेछ,” उनले भनिन्। कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा किसानको आयस्तर उकास्न दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो।

उनले विगतका जनप्रतिनिधिबाट अपेक्षित काम हुन नसकेको दाबी गर्दै अब परिणाममुखी विकास आवश्यक रहेको बताइन्। “यस क्षेत्रमा अझै धेरै काम बाँकी छन्। ती कामहरू अघि बढाउन र जनताको आवाज सशक्त रूपमा सदनमा उठाउन म उम्मेदवार बनेकी हुँ,” उनले भनिन्। आफूलाई विजयी गराएर विकास यात्रामा सहभागी हुन उनले मतदातासँग आग्रह गरिन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावागी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा अध्यक्ष संजु छतकुली, युवा नेता मुकेश दुबेदीलगायतले पनि मन्तव्य राखेका थिए। वक्ताहरूले संगठन सुदृढीकरण, युवाको सहभागिता र चुनावी अभियानलाई तीव्र बनाउनेमा जोड दिएका थिए।

भेलामा युवा नेता लियाकत अली, अजय साहलगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण पिन्टु उपाध्यायले गरेका थिए।

आगामी निर्वाचनलाई लक्षित गर्दै एमालेले पर्सा–२ मा संगठनात्मक गतिविधि तीव्र बनाएको छ। वडा तहबाटै कार्यकर्ता परिचालन र विकास एजेन्डा सार्वजनिक गर्दै पार्टीले चुनावी माहोल तताउन थालेको स्थानीय नेताहरूले बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै