Logo

१ फाल्गुण, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो महत्त्वाकाङ्क्षी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले वर्तमान संविधानको ढाँचाले मात्रै मुलुकलाई निकास दिन नसक्ने ठहर गर्दै ‘उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठनको मुद्दालाई’ प्रमुखताका साथ अघि सारेको हो । हालको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन नगरेसम्म सङ्घीयता केवल प्रशासनिक स्वरूपमा मात्रै सीमित हुने भन्दै जसपाले पहिचानसहितको सङ्घीयता र न्याय प्रणालीको पूर्ण पुनर्संरचना आफ्नो मूल एजेन्डा रहेको प्रस्ट पारेको छ ।

शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनको प्रस्ताव गर्दै जसपाले शिशु कक्षादेखि उच्च शिक्षासम्मको सार्वजनिक शिक्षालाई पूर्णतः निःशुल्क, प्रविधिमैत्री र सिपमूलक बनाउने संकल्प गरेको छ । मुलुकभरको शिक्षा प्रणालीमा एकरूपता कायम गर्दै गुणस्तर वृद्धिलाई प्राथमिकता दिने उसको योजना छ । सुशासनका क्षेत्रमा समेत आक्रामक बन्ने सङ्केत गर्दै जसपाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति मात्र होइन, वि.सं.२०४७ देखि हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने र जनलोकपाल जस्ता शक्तिशाली निकाय गठन गर्ने उद्घोष गरेको छ ।

आर्थिक सुधार र जनजीविकाका सवालमा जसपाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि पूर्णतः निःशुल्क (फ्रि भिसा र फ्रि टिकेट) को व्यवस्था कडाइका साथ लागू गर्ने जनाएको छ । त्यस्तै, वैज्ञानिक भूउपयोग नीति, जमिनको चक्लाबन्दी र कृषिको आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको पार्टीले आगामी ५ वर्षभित्र गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई १० प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन प्रणालीमा सुधार गरी समावेशी र जनउत्तरदायी व्यवस्था स्थापना गर्नु नै यसपटकको आफ्नो मुख्य कार्यभार रहेको जसपाले दाबी गरेको छ ।

Final-Ghosanapatra-


सम्बन्धित समाचार
भर्खरै