Logo

१ फागुन, काठमाडौं । वीर अस्पताल ले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराउँदै आएको सेवामा कटौती गरेको छ। अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत एकैपटक तीन महिनासम्मका लागि औषधि उपलब्ध गराउँदै आएकोमा अब भने एक महिनाका लागि मात्रै औषधि दिने निर्णय गरेको हो।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार १ फागुनदेखि अर्को व्यवस्था नभएसम्म बिमित सदस्यलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइनेछ। आर्थिक अभावका कारण बाध्य भएर सेवा सीमित गर्नुपरेको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार स्वास्थ्य बीमा बोर्ड ले लामो समयदेखि उपचार बापतको भुक्तानी नगरेपछि सेवा कटौतीको निर्णय लिनुपरेको हो। “बीमा मार्फत ४० करोड रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ,” उनले बताए।

डा. शर्माले वीर अस्पताल गरिब र विपन्न नागरिकको मुख्य उपचार केन्द्र भएकाले सम्पूर्ण सेवा बन्द गर्दा बिरामी प्रत्यक्ष मारमा पर्ने उल्लेख गरे। “अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा आंशिक रूपमा कटौती गरेका हौं,” उनले भने। औषधि खरिद र उपकरण मर्मतमा सबैभन्दा ठूलो समस्या देखिएको उनको भनाइ छ।

“सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन, उपकरण बनाउन सकिएको छैन। सेवालाई धान्न नै मुस्किल भइरहेको छ,” उनले थपे।

स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। लामो समयदेखि उपचार बापतको रकम भुक्तानी नपाएपछि केही ठूला अस्पतालहरूले बीमा सेवा समयसीमा तोकेर बन्द गर्ने चेतावनी दिइसकेका छन्। बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई गत असार मसान्तसम्मकै ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ।

भुक्तानी अभावका कारण अस्पतालहरू आर्थिक दबाबमा पर्दै जाँदा यसको प्रत्यक्ष असर बिमित नागरिकमा पर्ने देखिएको छ। सेवा कटौती क्रमशः बढ्दै गए स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको सरोकारवालाहरूले बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै