१ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा प्रचार–प्रसारमा सक्रिय देखिएका छन्। विभिन्न दलहरू रणनीतिक समीकरण मिलाउन र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।
यसैक्रममा नयाँ राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको प्रगतिशील लोकतान्त्रिक पार्टी का पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका वडा नम्बर–५ अन्तर्गत बहुअर्वा र हर्दियामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या र अपेक्षाबारे जानकारी लिएका थिए। उनले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “परम्परागत राजनीतिक शैलीले जनताको अपेक्षा पूरा गर्न सकेन, अब व्यवहारमा देखिने परिवर्तन आवश्यक छ,” उनले मतदातासँग भने।
दासले युवालाई रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा स्थानीय पूर्वाधार विकासमा जोड दिने बताए। साथै, सुशासन र पारदर्शितालाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गर्दै जनताको प्रत्यक्ष सहभागितामै विकास सम्भव हुने धारणा राखे।
स्थानीयवासीले सडक, सिँचाइ, खानेपानी तथा स्वास्थ्य सेवाको सुधार प्रमुख आवश्यकता रहेको बताएका थिए। उम्मेदवार दासले ती मागहरूलाई प्राथमिकतामा राखेर संसद्मा आवाज उठाउने आश्वासन दिए।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू गाउँ–टोलमा पुगेर मतदाता रिझाउन सक्रिय भएका छन्। आगामी निर्वाचनमा नयाँ दल र पुराना शक्तिबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
















